जेन–जी प्रदर्शन उग्र बनेपछि सुनसरी प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र प्रसाद मिश्रले एक सूचना जारी गर्दै इटहरी उपमहानगरको चारकिल्ला तोकेर अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेका हुन् ।
आदेशमा उत्तरमा हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि विकास चोकसम्म, दक्षिणमा अख्तियारको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिममा कलंकी मोडदेखि जनता बस्तीसम्म कर्फ्यू लगाइएको उल्लेख छ । प्रदर्शनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा आगजनी गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार, प्रदर्शनकारीले इटहरी उपमहानगर कार्यालयभित्र प्रवेश गरेर तोडफोड र आगजनी सुरु गरेको र स्थिति नियन्त्रण बाहिर गएकाले नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू लगाएको बताएका छन् ।

प्रकाशित: २३ भाद्र २०८२ १६:१८ सोमबार





