२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

पदयात्रा क्षेत्रमा फोहोरको सकस

जलाउन निषेध, फोहोरलाई पोखरा ल्याउँदै एक्याप

अन्नपूर्ण क्षेत्रको मुस्ताङमा संकलित फोहोरलाई सकंलन गरेर पोखरा ल्याउने तयारी गरिँदै। तस्बिरः एक्याप

अन्नपूर्ण क्षेत्रबाट मात्र गत आर्थिक वर्षमा ३२ हजार ६ सय किलो फोहोर संकलन भयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पहिलोपटक उक्त क्षेत्रबाट फोहोर संकलन गरेको थियो। एक्यापले नकुहिने फोहोर मात्र संकलन गरेको थियो। कुहिने फोहोरलाई भने स्थानीयस्तरमै व्यवस्थापन गरिएको थियो।  

पहिलोपटक संकलित फोहोरमध्ये प्लाष्टिकमात्र ३ हजार ४ सय किलो थियो। त्यस्तै २६ हजार २ सय किलो त शिशा नै थियो। तीनहजार किलो मेटलजन्य फोहोर थियो। एक्यापले अघिल्ला वर्षसम्म फोहर संकलन गरेर त्यही क्षेत्रमा आगो लगाएर जलाउँदै आएको थियो। तर, योवर्षदेखि नकुहिने फोहरलाई बोकेर पोखरा ल्याउने र रिसाइकल (पुनःप्रयोग) गर्न थालेको छ। पोखरामा रिसाइकल गर्नका लागि ग्रिनरोड कम्पनिसँग सम्झौता गरेको छ।  

‘संरक्षित क्षेत्र फोहोरले दुर्गन्धित बनायो, त्यही भएर गत आर्थिक वर्ष त हामीले संकलन अभियान नै थाल्यौ,’ एक्याप प्रमुख रविन कडरिया भन्छन, ‘घुम्न गएका विदेशी पाहुना र उनीहरुका सहयोगीले गरेको फोहोरका कारण पदयात्रा क्षेत्र दुर्गन्धित भएको छ।’ उनका अनुसार संरक्षण क्षेत्रमा संकलित फोहोरलाई अघिल्ला वर्षसम्म जलाउने गरिएकोमा त्यो पनि अब रोकिएको छ।  

‘फोहोर जलाउँदा त्यसको धुँवाले पनि असर गरेको थाहा भयो। पदयात्रा क्षेत्रमा गएका पर्यटकलाई फोहोर जलाउँदा निस्केको धुँवाले असर गरेकोले जलाउन पनि रोक लगाइएको हो,’ उनले भने, ‘पर्यटकीय, जैविक र धार्मिक दृष्टिले महत्वपूर्ण अन्नपूर्ण क्षेत्रलाई फोहोरले दुर्गन्धित बनाएको छ।’ यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने भविश्यमा पदयात्रा क्षेत्रमाथि नै सकस थपिने उनले बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार अन्नपूर्ण, मनास्लु र गौरिशंकर संरक्षण क्षेत्रबाट मात्र गत आर्थिक वर्षमा ३४ हजार किलो फोहोर संकलन गरिएको थियो। त्यो मध्ये सबैभन्दा बढी अन्नपूर्ण क्षेत्रबाट संकलन गरिएको थियो। किनकी अन्य क्षेत्रमा पर्यटक कम संख्यामा जाने भएकोले फोहोरको समस्या अझै बल्झिसकेको छैन। तर, अन्नपूर्ण क्षेत्रमा भने फोहोरले सताएको उनले बताए।  

‘पदयात्रामा गएका पर्यटक र उनीहरुका सहयोगीले बोकेर गएको सामान प्रयोग गरेपछि जथाभावि फालेको फोहोरले उक्त क्षेत्र नै प्रदूषित हुन थालेको छ। जलाएर मात्र पनि सम्भव नभएपछि अब त फोहोर संकलन गरेर पोखरा नै ल्याउने व्यवस्था मिलाएका छौ,’ उनले भने। 

कडरियाका अनुसार अन्नपूर्ण क्षेत्रमा फोहोरको चूनौति थपिँदै गएपछि समस्या समाधान गर्नका लागि एक्यापले विभिन्न जिल्लामा ११ ठाउँमा फोहोर संकलन केन्द्र नै बनाईदिएको छ। त्यस्तै फोहोर संकलत गर्ने समूहलाई परिचालन गर्नेगरि क्षमता वृद्धिका ३७ वटा कार्यक्रम नै आयोजना गरेको थियो। ११ पटक त फोहोर संकलन अभियान नै संचालन गरेको पनि उनले बताए।  

‘स्थानीय आमा समूह, पर्यटन व्यवस्थापन समिति, संरक्षण समितिलाई परिचालन गरेर फोहोर संकलन गर्न थालिएको छ। फोहोर संकलनका लागि परिचालित समूहले पदमार्ग क्षेत्रको फोहोर टिपेर नजिकको संकलन केन्द्रमा थुपार्छन,’ उनले भने, ‘त्यसपछि एक्यापले सवारीमाफर्त उक्त फोहोरलाई पोखरा ल्याउने व्यवस्था मिलाएको छ।’ अन्नपूर्ण आधारशिविरबाट समेत फोहोर संकलन गरेर पोखरा झारिएको उनले बताए।  

उनका अनुसार मुस्ताङ, मनाङका विभिन्न ठाउँ सहित घान्द्रुक। सिक्लेस लगायतका बस्ती भएका ठाउँमा र पदमार्गमा फोहोर संकलन केन्द्र बनाइएको छ। त्यसबाहेक ठाउँठाउँमा फोहोर थुपार्नका लागि ठूला आकार डस्टविन पनि राखिएको छ।  

‘अन्नपूर्ण क्षेत्र जैविक विविधताले भरिपूर्ण छ। तर, पदयात्रामा गएका पर्यटकले गरेको फोहोरले गर्दा दूर्गन्धित पनि बनेको छ,’ उनले भने, ‘कुहिने प्रकृतिको फोहोर व्यवस्थापनमा समस्या हुँदैन, तर नकुहिने फोहोरले चूनौति बढाएको छ। ठाउँठाउँमा प्लाष्टिक, शिशाका बोटल, मेटलका क्यान यत्रतत्र हुँदा जैविक क्षेत्र प्रदूषित भएको छ।’  

एक्याप प्रमुख कडरियाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अन्नपूर्ण क्षेत्रमा मात्र २ लाख ७८ हजार १ सय १३ जना विदेशी पाहुना गएका छन। यो संख्या अहिलेसम्मकै बढी भएको उनले बताए। वर्षभरिमा भित्रिएका पर्यटक मध्ये तेश्रो मुलुकका विदेशीको संख्या १ लाख २० हजार ३ सय २७ थिए। सार्क मुलुकका पाहुनाको संख्या भने १ लाख ५७ हजार ७ सय ८६ रहेको एक्यापले बताएको छ।

‘वर्षमा लाखौंको संख्यामा पर्यटकहरु पदयात्रामा जान्छन। उनीहरुले साथमा खानेकुरा लैजान्छन। तिनै खानेकुरा खाएपछि फ्याकेर हिड्दा फोहोरको समस्या बढेको हो,’ उनले भने, ‘फोहोरलाई मोहोरमा बदल्ने अवसर हुँदाहुँदै अहिलेसम्म बेवास्ता गरिएको थियो। अब भने त्यसलाई व्यवस्थापन गर्न थालिएको छ।’

गोरखामा पर्ने मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का प्रमुख सन्तोष शेरचनका अनुसार पछिल्लो समय पदयात्रा क्षेत्रमा फोहोरको समस्या चुलिँदो छ। शेरचनका अनुसार मनास्लु क्षेत्रमा कम संख्यामा पर्यटक गएकोले अहिले नै अरुतिर जस्तो फोहोरको समस्या बढिसकेको त छैन। तर, पर्यटक संख्यामा वृद्धि हुँदैजाँदा फोहोरको चूनौति थपिने उनले बताए।

‘विदेशी पर्यटक र उनीहरुका सहयोगीहरुले फ्याकेका सामानका कारण फोहोर भएको हो। लगाएका कपडा, जुत्ता च्यात्तिएपछि पदयात्रीले त्यत्तै फ्याक्ने गरेका छन। त्यस्तै खाएर फ्याकेका बोटलले सबैतिर फोहोर भएको हो। संरक्षित क्षेत्रमा चूनौती थपिएको छ,’ उनले भने।  

शेरचनका अनुसार हिमाल आरोहण र अर्धसंरक्षित क्षेत्रमा जाने पर्यटकले बढी फोहोर गर्छन। किनकी उनीहरु समूहमा जाने भएकोले फोहोर पनि बढी हुन्छ। हिमाल आरोहण गर्न जानेले गरेको फोहोर फिर्ता लैजानुपर्ने भनिएपनि सबै फोहोर फिर्ता नहुने शेरचनले बताए। ‘मनास्लु क्षेत्रमा फोहोरका चूनौति नबढोस भनेर हामीले समूदायमा डस्टविन बाँडेका छौ। अहिलेका लागि फोहोरको समस्या उत्तिसारो छैन। तर, यसलाई बेवास्ता गर्ने हो भन समस्या थपिँदै जान्छ,’ उनले भने।  

प्रकाशित: २२ श्रावण २०८२ १८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App