४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

स्कुल पढाउँदै केसर खेतीमा रमाउँछन् भुवनसिंह

जुम्लामा व्यावसायिक रूपमा केसर खेती विस्तार गरिएको छ। चन्दननाथ नगरपालिका-८ तलिउम राेकायाबाडा गाउँमा केसर खेती भइरहेको छ। ३४ बर्से भुवनसिंह राेकायाले तीस वर्षदेखि केसर खेती गरिरहेका छन्।

उनकाे अनुसार केसर खेतीले आम्दानीको स्रोत बलियो भएको छ। राेकायाबाडा गाउँमा २०५२ सालदेखि सुरुवात गरिएको थियो। उनले १३ राेपेनी जग्गामा भिमरुपा कृषि फर्म खाेलेर केसर खेती निरन्तर भइरहेको बताए।

उनले खुसी हुँदै भने,´बुवाले गरेको व्यावसाय निरन्तरता दिंदै छु। बुबा भिमबहादुर राेकाया र आमा रुपा राेकायाकाे नाम इंगित कृषि फर्म सञ्चालनमा छ।

भुवनसिंह प्राथमिक तहका स्थायी शिक्षक हुन्। उनी गाउँको भैरव माध्यमिक विद्यालय धुपी ढुस्कामा पढाउँछन्। सँगसँगै उनले कृषि कर्मलाई पनि निरन्तरता दिंदै छन्। अहिलेसम्म जुम्लामा उनीबाहेक अरू  कसैले केसर खेती गरेका छैनन्। उनी जुम्लामै पहिलो हो। वार्षिक कूल १० किलोसम्म केसर उत्पादन हुने गरेको अनुमान छ।

गाना प्रतिकेजी ६ हजार रुपैयाँ र दस फुलकाे एक पाकेट बनाइन्छ। प्रति पाकेटको २ सय रुपैयाँमा बिक्री हुन्छ। भुवनसिंहकाे अनुसार वार्षिक २ लाख ७० हजार रुपैयाँ बराबरको आम्दानी भइरहेको छ। उनले मुख्य आम्दानीको स्राेत भएको दाबी गरे।

उनकाे ७ जनाको परिवार छ। परिवारलाई घरखर्च लुगाफाटो, नुनतेल, चामल, स्वास्थ्य उपचार खर्च भइरहेको छ। व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु शिक्षाको पहिलो काम हो। शिक्षाले कामलाई ठूलो सानो भन्दैन। बरु शिक्षाको मूलमन्त्र बुझेको मान्छेले कामलाई नै प्रधान ठान्छ।

अहिले पनि कृषिप्रति कतिपय मान्छे सकारात्मक देखिंदैनन्। मेरो साेच अलिक फरक छ। पेशाले शिक्षक भए पनि किसानको परिचयले परिचित छु। जब स्कुल छुट्टी हुन्छ र फुर्सद हुन्छ राेकाया पुगिहाल्छन् आफ्नै कृषि फर्ममा। उनी भन्छन् ,"अहिले मान्छेहरू कुरा बढी काम कम गर्ने भएका छन्।"

उनलाई कुराभन्दा पनि काम गरेर देखाउन मन लाग्छ। उनलाई केसर खेतीमा चासो पहिल्यै थियो। गाउँमा आफूहरूले उत्पादन गरेको केसर गाना र फुल, शहरमा मान्छेहरू मीठो मानेर खाने गरेको प्रसंग सुनेर उनी प्रसन्न हुन्छन्।

बिउ कर्णाली प्रदेशका विभिन्न जिल्लामा जान्छ। गाना भने जुम्लाको क्षेत्रमा बिक्री हुन्छ। देशको अर्थतन्त्रमा थोरै भए पनि आफ्नो पनि योगदान भइरहेको आभास पनि उनलाई बेलाबेलामा भइरहन्छ।

राेकाया अहिले आर्थिक रूपमा सबल रहेको दाबी गर्छन्। शिक्षकको तलब मात्र थापिरहेका उनी अहिले केसर खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आफू सन्तुष्ट भएको बताउँछन्। शिक्षक भएर पनि याे पेसा अपनाउन अप्ठेराे लाग्दैन भन्ने प्रश्नमा उनी भन्छन् ,"होइन म त खुशी छु। कसैले किसानको रूपमा मलाई चिनाउँदा गर्व लाग्छ, बुबाआमाले अँगालेको काम गर्न पाउँदा आफूलाई भाग्यमानी नै ठानेको छु।"

स्कुलमा पनि विद्यार्थीलाई कृषि पेसाबारे वर्णन गरेर प्रोत्साहन गर्ने गरेको उनले बताए। बहुमुल्य खेती भएकाले पर्यटन प्रवर्द्धनसँगै जुम्लालाई समृद्धितर्फ अगाडि बढाउन सकिने बताउँछन्।

राेकायाका अनुसार हिउँ र तुषारो पर्ने चिसो भूभागमा मात्र यसको खेती हुन्छ। औषधि र खानेकुरामा प्रयोग हुने केसर सुगन्धित छ। समुद्र सतहबाट २ हजार २५ सय मिटरभन्दा माथिको उचाइमा यसको खेती हुन्छ।

विज्ञहरूकाे अनुसार केसर खेतीका लागि सुहाउँदो माटो भनेको पानी नजम्ने, बलौटे दोमट र अलिअलि झार भएको माटो राम्रो मानिन्छ। केसर खेती लगाउँदा असोज राम्रो मानिन्छ। अपच, झाडाबान्ता, भोक नलाग्ने, कलेजो सुन्निने, मुटुको रोग, पिसाबसम्बन्धी समस्या, महिनावारी गडबडीमा हुने दुखाइ, दम, खोकी, नसाको रोग जस्ता धेरै किसिमका रोगमा लाभकारी हुन्छ।

गर्भवतीहरूले यो खोजीखोजी खाने गरेको समेत सुनिन्छ। यो पूजा गर्न प्रयोग गरिन्छ। केसर खेतीका लागि पहिलो प्रयास जुम्लामा २०२९ सालमा गरिएको थियो तर त्यो प्रयास सफल भएन। त्यसपछि २०३८ सालदेखि जुम्लामा पुन: सुरु गरिएकाे थियो।

प्रकाशित: ९ श्रावण २०८२ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App