रौतहटमा एक महिलाको बीभत्स हत्या भएको छ।
स्थानीय फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वाका महन्थ यादवको २८ वर्षीया श्रीमती आरती देवी यादवको बीभत्स हत्या भएको हो। आरतीको आफ्नै सुत्ने कोठामा घाँटीमा धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको आशंका गरिएको छ। मृतकका श्रीमान् महन्थ यादव भने फरार छन्।
आइतबार अबेर सम्म मृतकको घर खुल्न नसकेपछि स्थानीयको आग्रहमा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाको टोली पुगेर घरको ढोका खोलेपछि आरती सुत्ने खाटमै बीभत्स रुपमा उनको घाँटी काटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए।
आरतीको श्रीमान् महन्थ राय यादव फरार रहेको हुँदा निजको तीव्र रुपमा खोजी कार्य भइरहेको तथा घटना सम्बन्धमा प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रीमान् महन्थले नै हत्या गरेर फरार भएको बताए।
आरतीको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको डिएसपी बस्यालले बताए।
प्रकाशित: ४ फाल्गुन २०८२ ११:४७ सोमबार





