२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

इलाममा इन्धन र खाना पकाउने ग्यास अभाव सुरु

मेची राजमार्गको वैकल्पिक भनिएको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकको जोगमाई खोलामा कल्भर्ट बनाइँदै। तस्बिरः भीम/नागरिक

विपद् संकटग्रस्त जिल्ला इलाम ११ दिनयता यातायातको सहज पहुँचमा जोडिन सकेको छैन। सहज मार्गबाट ल्याउन नसक्दा सदरमुकाम इलाम बजारसहित माइखोलाभन्दा पश्चिमी क्षेत्रमा इन्धन र खाना पकाउने ग्यास अभाव हुन थालेको छ।  

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेलले खाद्यान्न भने तत्काललाई अभाव नभएको बताए। ‘खाद्यान्न त अर्काे बाटो भएर पनि केही मात्रामा ल्याइँदैछ,’ उनले भने, ‘अब ग्यास र इन्धन अभाव हुने अवस्था छ।’ उनले ग्यास र इन्धन ल्याउन पनि छलफल र सहजीकरण भइरहेको जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद गुरागाईंले इलाममा इन्धन अभाव सुरु भएको बताए।  

पहिरोले अवरुद्ध मेची राजमार्ग अझै खुल्न सकेको छैन। मेची राजमार्गका दर्जनौं स्थानमा पहिरो गएपनि इलाम नगरपालिका ९, राजदुवालीको पहिरोमा अझै सवारी आउ–जाउ गर्ने अवस्था छैन। सात दिनयता निरन्तर पहिरो पन्साएर सडक निकाल्ने काम भइरहेपनि पूरा हुन सकेको छैन। डिभिजन सडक कार्यालयले पहिरो हटाउन चार एक्स्काभेटर प्रयोग भइरहेपनि खुल्न नसकेको जानकारी दिएको छ। यहाँको करिब डेढ किलोमिटरका ४ खण्ड एउटै पहिरोले बगाएको छ। ‘भित्रभित्रैबाट पानी बगिरहेकाले बाटो अड्याउन सकिएको छैन,’ सडक डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘हामी निरन्तर काम गरिरहेका छौं।’

पहिरोले इलाम–झापा जोड्ने निर्माणाधीन केचना–कन्चनजंघा मार्गको एउटा पक्की पुल र एउटा बेली ब्रिज क्षति गरेको छ। पुवाखोलाको बेली ब्रिज बगाएको छ भने माइखोलाको बेलासे पक्की पुल बीचमा भाँच्चिएको छ। यो मार्ग मेची राजमार्गको वैकल्पिक भएपनि दुवै ठाउँमा पुल नहुँदा सवारीका साधन चल्ने अवस्था नरहेको डिभिजनले जनाएको छ। पुवाखोलामा स्थानीय र नेपाली सेनाको सहकार्यमा काठको फड्के बनाइएको छ। यसबाट साना सवारी र मोटरसाइकल तर्न सक्छन्। तर, प्रशासनले यो राजमार्गमा सवारी चलाउन जोखिम भएकाले नचलाउन सूचना गरेको छ।  

राजदुवालीको वैकल्पिक मानिएको सिमलगोलाईबाट जोगमाई हुँदै तिल्केकी जोड्ने सडकको जोगमाईको बेली ब्रिजसमेत बाढीले बगाएको छ। खोलामा पानी धेरै भएकाले बाढीको १० दिन बित्दासमेत पानीबाट सवारीका साधन तार्न सकिने अवस्था नरहेको यातायात व्यवसायी बताउँछन्। राजदुवालीमा मेची राजमार्ग मर्मत गरेको ९ दिनपछिमात्र डिभिजनले वैकल्पिक यो रुटको जोगमाईमा अस्थायी कल्भर्ट बनाउन थालेको छ। सोमबार निर्माण थालिएको कल्भर्ट मंगलबार साँझ वा बुधबारसम्ममा सञ्चालन हुने डिभिजन प्रमुख भट्टराईले बताए। यो सडक खुल्दा साना सवारी साधन चलेपनि केही स्थानमा सडक मर्मत गर्दामात्रै ठूला सवारीका साधन चल्ने अवस्था छ।    

इलाम बजारबाट माइखोलाको बज्रदेवी–नामसालिङ–गुप्ती–फिक्कल सडक आइतबारयता विकल्पका रूपमा खुला भएको छ। तर, यो रुटमा साना सवारी साधनमात्र चल्छन्। मालबाहक सवारी चल्न सकेका छैनन्। यो रुट खुलेपछि इलामबाट फिक्कल, बिर्तामोड आउ–जाउ गर्ने यात्रुलाई केही सहज भएको छ। मेची राजमार्ग र बाँकी विकल्पसमेत नखुल्दा इलाममात्र नभई पाँचथर र ताप्लेजुङसमेत प्रभावित भएका छन्।  

असोज १८ को बाढी–पहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो भने १ जना बेपत्ता छन्। असोज २७ सम्मको प्राप्त विवरणअनुसार २ सय ९० घरमा पूर्ण र ७ सय ५३ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ४ सय परिवार विस्थापित भएका छन्। विस्थापितमध्ये ३ सय ८९ परिवार आफन्तकहाँ र ११ परिवार सामुदायिक भवनमा बसेका छन्। धेरै संख्याका पशुचौपाया क्षति भएका छन्। सरकारले इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा गरेको थियो।  

बाढी र पहिरोले सयौं ग्रामीण सडक क्षतिग्रस्त छन्। केही सामुदायिक भवन, खेलमैदानलगायत संरचना क्षतिग्रस्त भएका छन्। कतिपय स्थानमा स्थानीयसमेत आफैँ जुटेर पुनर्निर्माणमा लागेका छन्। सुरक्षाकर्मी र संघ–संस्थाले स्थानीयलाई सघाएर विभिन्न संरचना पुनः उठाउँदै जनजीवन सहज बनाउने प्रयास भइरहेको छ। मृतक तथा विस्थापितका परिवारलाई राहत वितरण भइरहेको छ। जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न संघ–संस्थाले राहत वितरण गरिरहेका छन्।

प्रकाशित: २८ आश्विन २०८२ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App