बाघको आक्रमणबाट बारामा पछिल्लो दुई महिनाभित्र चार जनाको मृत्यु भएको छ।
आइतबार बिहान प्रगतिशील सामुदायिक वनभित्र जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको बाघको आक्रमणबाट मृत्यु भएसँगै उक्त संख्या चार पुगेको हो। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीका अनुसार यसअघि अम्लेखगञ्जमा तीन जनाको मृत्यु भएको थियो।
घाँस काट्न गएकाहरूले बिहान च्याउ टिप्न गएका लामाको शव जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बाघको आक्रमण बढेसँगै एउटा प्राविधिक टोली प्रभावित क्षेत्रमा सिसी क्यामरा जडान गर्न र नरभक्षी बाघलाई नियन्त्रणमा लिन प्रभावित क्षेत्रमा परिचालन भइसकेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ।
प्रकाशित: २२ भाद्र २०८२ १३:२२ आइतबार





