२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

अनाथालयका चार बालकले पाए नागरिकता

नागरिकता पाएपछि जिल्ला प्रशासन कार्यालयअघि तस्बिर खिचाउँदै बालकहरू, तत्कालीन प्रजिअ सुनिता नेपाल र अन्य ।

२१ वर्षे अर्जुन राईलाई नागरिकता पाउँदिनँ होला भन्ने त कहिल्यै लाग्दैनथ्यो तर नेपालमै जन्मेर पनि नेपाली नागरिकता पाउन यति धेरै संघर्ष गर्नुपर्छ भन्ने पनि सोचेका थिएनन् उनले । इलाम नगरपालिका ९, गोलाखर्कको राहसल बालगृहमा बसिरहेका उनले उमेर (१६ वर्ष) पुगेपछि पटक–पटक नागरिकता पाउन प्रयत्न गरे । तर, सकेका थिएनन् ।

उमेर पुगेपछि सबैले नागरिकता पाउने, आफूले चाहिँ किन नपाइएको होला भन्ने प्रश्नले उनलाई धेरैपटक सोच्न बाध्य बनायो । ‘वडा कार्यालय गयो सिफारिस बन्दैन, अरूलाई भन्यो नागरिकता पाउने आशाको कुरै आउँदैन,’ उनले सुनाए, ‘निकै धेरै प्रयत्न गरेको पनि ४ वर्षभन्दा बढी भइसकेको थियो, अहिले सफल भइयो ।’  

२०६८ सालदेखि बालगृहमा बसिरहेका उनी ६ वर्षको हुँदा यहाँ ल्याइएका रहेछन् । तर, उनलाई कहाँबाट यहाँ आइपुगियो भन्ने स्मरण छैन । ‘मलाई त यही घर हो भन्ने लाग्छ, यहाँ हामीलाई खान–लाउन दिनुहुने नै हाम्रा आमा–बुबाहरू हुनुहुन्छ ।’ आदर्श माविको कक्षाा १२ मा पढ्दैछन् उनी । ‘नागरिकता बन्यो, अब अझै पढ्छु,’ उनले भने, ‘त्यसपछि जब (रोजगारी) खोज्छु । अब त जागिर खान पनि बाटो खुल्यो, आफ्नो भविष्य आफैं बनाउन सकिने भयो ।’  

यहीं बस्दैआएका १८ वर्षे टेकबहादुर दर्जीले पनि नागरिकता पाए । ३–४ वर्षको उमेरदेखि नै यहाँ बसिरहेका उनी पनि आदर्श माविको कक्षा १२ मा पढ्छन् । ‘अब नेपाली नागरिक भइयो,’ उनले हर्ष सुनाए, ‘१२ कक्षा सकेर इन्जिनियरिङ पढ्न जाने सोच छ । जागिर खान, देश–विदेश सबैतिर गएर काम गर्न पाइन्छ अब ।’  

२० वर्षका भीम मगर यहाँ बसेको १३ वर्षजति भयो । उनले ९ कक्षा पढेर बिसाए । उनी यहीं बस्छन् तर विभिन्न स्थानमा गएर रोजगारी पनि गर्छन् । ‘नागरिकता नहुँदा निकै खल्लो लागेको थियो, म नेपालमै जन्मेर पनि नेपाली नागरिक हुन पाएको थिइनँ,’ उनले भने, ‘अब सबै काम गर्न सजिलो भएको छ, सकेसम्म नेपालमै काम गर्छु, नसके रोजगारी गर्न विदेश जान पनि सकिने भयो ।’

१७ वर्षे मौसम तामाङले चाहिँ नागरिकता पाउँछु भन्ने सोचेका थिएनन् । तर, बालगृहको व्यवस्थापन समितिले नागरिकता हातमै राखिदिने वातावरण बनाइदिएकामा औधी खुसी छन् उनी । ‘मलाई त नागरिकता पाइन्छजस्तो लागेको थिएन,’ कक्षा १० मा पढ्दैगरेका उनले भने, ‘अहिले भविष्यबारे सोचेको छैन, अहिले पढाइलाई नै निरन्तरता दिने हो, त्यसपछि अरू ।’ सानै उमेरदेखि यहाँ रहेका उनलाई पनि आफू कहाँबाट, कसरी यहाँ आइपुगियो भन्ने सम्झना छैन ।

बालगृहमा बस्नेमध्ये पहिलोपटक ४ जनाले एकैसाथ वंशजको नागरिकता पाएका हुन् । बालगृह व्यवस्थापन समितिको पटक–पटकको प्रयासमा जिल्ला प्रशासन कार्यालयले चारैजनालाई नागरिकता दिएको छ । ‘बालगृहमा बसेका बालबालिकामध्ये उनीहरूले देशमै पहिलोपटक नागरिकता पाएका हुनसक्छन्,’ व्यवस्थापन समिति अध्यक्ष माया भट्टराईले भनिन्, ‘उनीहरूलाई नागरिकता दिलाउन धेरै नै संघर्ष गर्नुपर्‍यो, ४–५ वर्षदेखि प्रयास त भएकै थियो, पछिल्लो पटक पनि करिब डेढ महिनाको निरन्तर प्रयासमा नागरिकता दिलाउन सफल भएका छौं ।’  

उनले इलामकी तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बालकहरूलाई नागरिकता दिलाउन ठूलो सहयोग गरेको बताइन् । ‘यो हाम्रोमात्रै प्रयासले हुने थिएन,’ भट्टराईले भनिन्, ‘धन्न सिडिओ पनि महिला नै भएका कारण प्रचलनमा रहेको कानुनअन्तर्गत नै नागरिकता दिलाउन सफल भइयोजस्तो लाग्छ ।’ उनले कहिले के नमिल्ने, कहिले के प्रमाण नपुग्नेजस्ता कारणले ज्यादै कठिन अवस्था पार गरेर नागरिकता दिलाउन सफल भएको बताइन् । ‘यहाँ सानै उमेरमा ल्याइएका बालबालिका सबै नेपालकै हुन्, उनीहरूलाई आधिकारिक रूपमै यहाँ ल्याएर राखिएको हुन्छ तर नागरिकता बनाउन निकै सकस थियो,’ अध्यक्ष भट्टराई भन्छिन्, ‘अब अरूलाई पनि नागरिकता बनाउने बाटो खुलेको छ ।’ रोङ गाउँपालिकाबाट ल्याइएका दुई बालकको पुनः नागरिकता बनाउने तयारी भइरहेको छ ।  

बालकहरूले पाएको नागरिकतामा उनीहरू जहाँबाट ल्याइएका हुन्, त्यही स्थानको ठेगाना उल्लेख गरिएको छ । ठेगाना नखुलेकालाई अहिले बसिरहेको स्थानकै ठेगाना दिइएको छ । सानै उमेरमा यहाँ ल्याउँदा नामथर थाहा नभएका बालबालिकाको बालगृहले नै नामथर जुराइदिएको छ । अभिभावकको नाम लेख्ने ठाउँ खाली छाडिएको छ ।  

नेपालको संविधानले नेपालमा जन्मेको व्यक्तिलाई नागरिकता दिलाउने व्यवस्था गरेको छ । र, कार्यविधि कानुनमा यसको प्रक्रिया र विधि स्पष्ट उल्लेख छ । तर, विभिन्न बालगृहका बालबालिकाले नागरिकता पाउने अधिकार सहजै प्रयोग गर्न पाइरहेका छैनन् । तत्कालीन सिडिओ नेपालले नेपालमा जन्मेको व्यक्तिले नागरिकता पाउने संवैधानिक र कानुनी व्यवस्था स्पष्ट रहेको भन्दै त्यसैअनुसार नागरिकता दिइएको बताइन् । बालगृह रहेको वडा (इलाम ९) ले भने उनीहरूको नागरिकता सिफारिसमा हस्ताक्षर गरेको छैन ।  

नागरिकता बनाउँदा आफन्तले सनाखत गर्नुपर्ने प्रावधान रहेपनि उनीहरूका आफन्त टुंगो नलागेको अवस्थामा बालगृहको तर्फबाट अध्यक्ष माया भट्टराईले नै सनाखत गरेकी छिन् । ‘कानुनी प्रक्रिया पूरा गर्नकै लागि सयौं पटक स्थानीय समुदाय, प्रहरी, वडा कार्यालय र प्रशासन कार्यालय धाउनुपर्‍यो,’ अध्यक्ष भट्टराई भन्छिन्, ‘लामो संघर्ष सफल भएकामा हामी सबै खुसी पनि छौं । अब यी बालकहरूले जीवनभर हामीलाई सम्झिने छन् ।’

बालगृहमा रहेका १ बालक र १ बालिकाको जन्मदर्ता बनाउन पनि यसअघि यसरी नै संघर्ष गर्नुपरेको बालगृह व्यवस्थापन समिति सचिव गीता कोइरालाले सम्झिइन् । ‘कानुन स्पष्ट हुँदाहुँदै पनि कतिपय अवस्थामा काम गर्न असजिलो मानिँदोरहेछ,’ उनले भनिन्, ‘तर, अन्तिममा सफल भयौं । नागरिकता बनाउने काम सफल पार्न धाउँदा धाउँदा ज्यादै थकित हुनुपर्‍यो, निन्द्रा लाग्न र खाना रुच्न छाडेको थियो, अब मात्रै सन्तोष भएको छ ।’ उनले वडा ९ का सचिव अर्जुन थापा र तत्कालीन सिडिओ सुनिता नेपालकै कारणले मात्रै आफूहरू सफल भएको पनि बताइन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टीका निरौलाले कुनै पनि अनाथालय वा बालगृहमा रहेका बालबालिकाको सम्बन्धित संरक्षक र वडाको सिफारिसमा नागरिकता दिन सकिने व्यवस्था रहेको बताए । ‘नेपालमै जन्मेको, नेपालमै फेला परेको र आधिकारिक संरक्षकसँग हुर्केको व्यक्तिलाई बाबु–आमा पत्ता नलागेसम्म वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ,’ उनले भने, ‘सनाखत संरक्षकले गर्नसक्छ, सँगसँगै प्रहरी प्रतिवेदनलाई पनि आधार मानिएको छ ।’  

इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले वडाले नै उनीहरूको नागरिकताका लागि मुचुल्कालगायत कागजातमा सहयोग गरेको बताए । ‘म बुबा बिरामी भएर इलामभन्दा बाहिर थिएँ, कार्यवाहक वडाध्यक्ष तोकिएको थियो, नागरिकता बनाउन सिफारिस लैजाने बेला सम्बन्धित व्यक्ति नै आउनुभएनछ तर वडाकै कागजका आधार बनेको हो,’ उनले भने, ‘हामीले असहयोग गरेको होइन, वडाको सहयोगबिना त नागरिकतै बन्दैन नि ।’  

प्रकाशित: १६ पुस २०८२ १६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App