लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट लागू औषधसहित चार जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थितबाट गुलरिया नगरपालिका–४ का २९ वर्षीय धर्म बहादुर परियार र २८ वर्षीय जिवन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको ६ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै गुलरिया नगरपालिका–११ लालपुर स्थितबाट वडा नम्बर ४ तुलापुरका २४ वर्षीय सन्तोष गोडियालाई प्रहरीले पक्राउ गरेको छ । गोडिया गणेशपुर देखि गुलरिया तर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा १ ग्राम २ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जनाइएको छ।
बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट मधुवन नगरपालिका–३ का २३ वर्षीय राज कुमार परियारको साथबाट १ ग्राम २ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई बुधबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।
प्रकाशित: २९ श्रावण २०८२ ११:४१ बिहीबार





