१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

विपद्को घडीमा एकजुट भएर उद्धारमा जुट्न पूर्वराजाको अपिल

चीनको तिब्बतस्थित हिमताल फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति पुर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले दुःख व्यक्त गरेका छन्।

यस्ता सीमापार प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि अलग-अलग प्रयासभन्दा त्रिदेशीय संयुक्त प्रयास आवश्यक रहेको उनले बताए।

निर्मल निवासस्थित सम्वाद सचिवालयमार्फत देशवासीका नाममा सन्देश जारी गर्दै उनले सीमा जोडिएका छिमेकी देशमा आउने प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेपाल, भारत र चीनबीच संयुक्त संयन्त्रमार्फत विपद् व्यवस्थापन गरिनुपर्ने तथ्यलाई मनन गर्न आग्रह गरेका हुन्।

तिब्बतमा हिमताल फुटेपछि उर्लिएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका तटीय क्षेत्रका बस्ती, सडक, पुलपुलेसा, जलविद्युत् आयोजना तथा खेतीपातीमा अपार क्षति पुर्‍याएकोमा उनले दुःख व्यक्त गरेका छन्।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

साथै, बाढीमा सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई तत्काल तीव्रता दिनुपर्नेमा उनले जोड दिएका छन्।

विपद्को यस कठिन घडीमा खोजी, उद्धार, उपचार तथा राहत वितरणमा कुनै कमी हुन नदिन आग्रह गर्दै उनले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था र आम नागरिक सबैलाई एकजुट भएर पीडितको सहयोगमा जुट्न अपिल गरेका छन्।

प्रकाशित: १० भाद्र २०८३ १९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App