पूर्वनागरिककर्मी भास्वर ओझाको निधन भएको छ । ४६ वर्षीय ओझाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज (सोमबार)निधन भएको हो । जन्डिसको संक्रमण बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
दुई दशकभन्दा लामो समय नेपाली फोटो पत्रकारितामा सक्रिय रहेका ओझाले फोटो पत्रकारिता तथा फोटोग्राफी क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
आफ्नो व्यावसायिक यात्राका क्रममा ओझाले नेपाल रिपब्लिक मिडियाअन्तर्गत नागरिक तथा रिपब्लिका दैनिकमा लामो समय काम गरे । अहिले स्वतन्त्र फोटो पत्रकारका रुपमा उनी सक्रिय थिए ।
फोटो पत्रकारितामा नयाँ पुस्तालाई भित्र्याउन पनि ओझाले महत्वपूर्ण भूमिका खेलेका छन् । नेपाल फोटो कन्टेस्ट तथा प्रदर्शनीलाई सफल बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको फोटो पत्रकार क्लब नेपालका महासचिव अमूल थापाले बताए ।
ओझाको निधनसँगै नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी, निर्भीक तथा समर्पित फोटो पत्रकार गुमाएको छ।
स्वर्गीय ओझाका श्रीमती र एक छोरी छन् ।
प्रकाशित: २२ असार २०८३ २०:३० सोमबार





