३० असार २०८३ मंगलबार
image/svg+xml
अर्थ

कटहरियामा प्रशासकीय अधिकृत फेरिएपछि खुल्यो बजेटको गाँठो

<br>

लामो समयदेखिको आन्तरिक विवाद अन्त्य गर्दै रौतहटको कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम पारित गरेको छ।

कानुनी व्यवस्था अनुसार असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने भए पनि कटहरियाले आन्तरिक खिचातानीका कारण निर्धारित समयभन्दा १२ दिन ढिलो गरी बजेट स्वीकृत गरेको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामविनय सिंहलाई खटाएपछि कटहरियाको नगरसभा बस्ने वातावरण बनेको थियो।

नगरपालिकाको प्राङ्गणमा आयोजित १२औँ नगरसभा तथा १०औँ बजेट अधिवेशनले ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ बजेट पारित गरेको हो।

नगरपालिकाले विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार र पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षमा कृषि उत्पादन वृद्धि, पशुपालन, स्वास्थ्य सेवा विस्तार, शिक्षा, खानेपानी, सरसफाइ, सडक तथा भौतिक पूर्वाधार विकास र रोजगारी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखिएको छ।

नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख रीता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, लेखा प्रमुख कामेश्वर सहनीसहित वडाध्यक्ष, जनप्रतिनिधि र स्थानीयवासीको उपस्थिति रहेको थियो।

कटहरियाले बजेटको गाँठो फुकाए पनि रौतहटका गरुडा र फतुवा विजयपुर नगरपालिकामा भने अझै नगरसभा हुन सकेको छैन। दुवै नगरपालिकामा जनप्रतिनिधि र नगर प्रमुखबीच बजेट बाँडफाँटको विषयमा कुरा नमिल्दा बजेट अधिवेशन अझै अन्योलमा परेको छ।

आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहँदा र बजेट नआउँदा ती पालिकामा सेवा प्रवाह र विकास निर्माण प्रभावित हुने जोखिम बढेको छ।

प्रकाशित: २२ असार २०८३ २०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App