११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

हिमाली जिल्लामा बाढि र हिमपातको सकस

मुस्ताङको माथिल्लो भेग लोमान्थाङ क्षेत्रमा हिमपातका कारण रोकिएका कन्टेनर। तस्बिरः नागरिक

बाढिले हिमाली जिल्लामा विपत् निम्त्याएको छ। हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा भौतिक नोक्सान गरेको छ। त्यस्तै मनाङकै तालगाउँका घर पनि डुबानमा परेका छन्। गोखराको माथिल्लो भेगमा पनि पहिरो निम्त्याएको छ। अर्काे हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगमा हिमपात भएको छ। पुल बग्दा बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध भएको छ।  

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले मनाङको सदरमुकाम चामे पाँचवटा घर र एउटा चर्चमा क्षति पुर्याएको छ। ती मध्ये चारवटा घर पूर्ण रुपमा क्षति भएका छन्। एउटा घर भने आंशिक क्षति मात्र भएको छ। ‘स्थानीय ठाडो खोलाले क्षति गरेको हो। मर्स्याङ्दी खोलाले क्षति गरेको होईन,’ उनले भने। उनका अनुसार मर्स्याङ्दी किनारका १० वटा घर पनि डुबानमा परेका छन्।  

उनका अनुसार सदरमुकाम चामेसँग माथिल्लो मनाङको सम्पर्क विच्छेद भएको छ। कोदो–चामे खण्डका चारवटा काठेपुल पनि बगाएको छ। पुल बगेपछि मनाङमा सडक सम्पर्क पनि विच्छेद भएको छ। त्यसबाहेक विद्युतका पोल ढलेपछि सदरमुकामा चामेमा विद्युत आपूर्ति बन्द भएको छ। विद्युत आपूर्ति सुरु हुनका लागि सडक संचालन हुनुपर्ने उनले बताए। 

‘सडक खुलेपछि बल्ल विद्युत सेवा सुरु गर्न सहज हुन्छ। विद्युत सेवा संचालन हुनका लागि कम्तिमा १५ दिन लाग्न सक्छ,’ उनले भने। बाटोघाटोमा पहिरो झरेको र पुल पनि बगेपछि अहिले पदयात्राका लागि गएका पर्यटक पनि रोकिएको उनले बताए।  

अर्काे जिल्ला गोरखाको माथिल्लो भेगमा पनि पहिरो झरेको स्थानीयले बताएका छन्। गोरखाको माथिल्लो क्षेत्र चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पहिरो झर्दा स्थानीय जोखिममा परेका छन्। मनास्लु क्षेत्रबाट झरेको पहिरोले स्थानीयलाई जोखिममा पारेको हो।  

पहिरोले पुलमा क्षति गरेपछि बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध भएको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार म्याग्दीका अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा रहेको कालिगण्डकी नदीमाथिको पक्किपुलको एक छेउमा पूर्णरुपमा कटान भएको छ। पुलको एकछेउ कटान भएपछि सडक पूर्ण रुपमा बिच्छेद भएको उनले बताए।  

‘म्याग्दी खण्डको पुलका कारण बेनी–जोमसोम सडक खण्ड तत्काल संचालनमा आउन सक्दैन,’ उनले भने, ‘बेनी जोमसोम खण्डको सिरुवारी, तातोपानी, रुपसे, पोखरेबगर लगायतका स्थानमा पहिरो झरेको छ।’ साना आकारका केही पहिरो तत्काल हटाउन सकिने भएपनि कटान भएको पुलको क्षेत्र मर्मतसम्भारका लागि भने समय लाग्ने भएकोले तत्कालै सडक संचालनमा आउन सक्ने अवस्था नरहेको उनले बताए।  

तत्काल सडक खुलाउ सक्ने अवस्था नरहेको पनि उनले बताए। मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो भेगमा पहिरो खसेकोले सडक पूर्णरुपमा अवरुद्ध रहेको उनले बताए। उनका अनुसार सडक अवरुद्ध भएपछि नेपालले पछिल्लो समय कोरला नाकाबाट भित्र्याउँदै आएको चिनियाँ सामान पनि कोरलामै रोकिएको छ। कोरलामा सामान लिन गएका नेपाली कन्टेनर अहिले नाका क्षेत्रमै रोकिएको उनले बताए। ‘माथिल्लो क्षेत्रमा हिमपात, तल्लो भेगमा पहिरोले गर्दा सकस थपेको छ,’ उनले भने।  

प्रकाशित: ११ आश्विन २०८३ १७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App