रसुवाको बाढीका कारण नारायणी नदीमा आएको उच्च बहावले चितवनको भरतपुर महानगरपालिका-१७ स्थित मजुवालगायत तटीय क्षेत्रमा तीव्र कटान सुरु गरेको छ।
बाढी बस्तीमा पस्ने जोखिम बढेसँगै सरकारले रोकथाम तथा क्षति न्यूनीकरणका लागि सम्पूर्ण क्षमता परिचालन गरेको कानूनमन्त्री सोविता गौतमले जानकारी दिएकी छन्।
मन्त्री गौतमका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा कटान नियन्त्रणका लागि आवश्यक ठूला ढुङ्गा संकलन तथा ढुवानीको काम सुरु भइसकेको छ र कटान क्षेत्रमा सामग्री क्रमशः खसाल्ने कार्य भइरहेको छ।
यस कार्यमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रत्यक्ष रूपमा खटिएको छ।
उनले छिमेकी जिल्ला, स्थानीय तह तथा सम्बन्धित सबै निकायलाई आवश्यक सामग्री, उपकरण र जनशक्ति उपलब्ध गराएर सहकार्य गर्न हार्दिक अपिल गरेकी छन्।
चितवनलगायत अन्य नदी किनारका बस्तीहरू समेत बाढीको जोखिममा रहेको औंल्याउँदै मन्त्री गौतमले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन्।
‘सबैले धैर्य राखौं, एकअर्कालाई साथ दिऔं र नदीकिनारका नागरिक विशेष सतर्क रहौं,’ मन्त्री गौतमले भनेकी छन्, ‘जोखिम देखिएमा सुरक्षित स्थानमा सर्नुहोस् र सरकारी निकायको सूचनालाई पूर्ण रूपमा पालना गर्नुहोस्। सरकार निरन्तर जोखिमको आकलन गर्दै उद्धार, संरक्षण र क्षति नियन्त्रणमा जुटेको छ।’
प्रकाशित: १४ भाद्र २०८३ २०:३७ आइतबार





-600x400.jpg)