शव व्यवस्थापनबारे समाजिक सञ्जालमार्फत सुझाव दिने आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई सरकारले शव व्यवस्थापनको जिम्मेवारी तोकेर बाढी प्रभावित रसुवामा खटाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरिय निर्णयगरी रसुवाको टिमुरे क्षेत्रलाई केन्द्र बनाएर बाढीमा बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोजी, उद्धार, राहत र शव व्यवस्थापनमा सहयोग गर्ने जिम्मेवारीसहित निरौलालाई काजमा पठाएको हो ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता तथा मृत्यु भएकाले खोज, उद्धार, राहत र शव व्यवस्थापनका लागि गृह प्रशासन तथा विपद् व्यवस्थापनको अनुभव भएका कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता रहेको मन्त्रालयले जनाएको छ ।
सोही आधारमा मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई रसुवा खटाइएको हो । निरौलाको तलब, भत्ता र अन्य सेवा सुविधा भने कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाटै उपलब्ध हुने व्यवस्था गरिएको छ ।
अर्को व्यवस्था नभएसम्म उनले हाल पाइरहेको पारिश्रमिक तथा सुविधा प्रदेश सरकारबाटै पाउनेछन् । विपद्का बेला पहिचान नखुलेका शव व्यवस्थापनमा हतार नगर्न सरकारलाई सामाजिक सञ्जालमार्फत निरौलाले सुझाव दिएका थिए । उनले शनिबार फेसबुकमार्फत बाढीमा भेटिएका शवको व्यवस्थापन गर्दा हतार नगर्न सरकारलाई सुझाव दिएका थिए ।
चितवनमा पहिचान नखुलेका शव खाल्डो खनेर गाड्ने प्रक्रिया अघि बढेपछि उनले आफ्नो प्रशासनिक अनुभवका आधारमा शव व्यवस्थापनमा थप संवेदनशीलता अपनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।
निरौलाले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्त अझै आफ्ना परिवारका सदस्यको ‘सास वा लास’ खोजिरहेको अवस्थामा पहिचान नखुलेका शव तत्काल गाड्दा आफन्तले आफ्ना परिवारका सदस्य हुन् वा होइनन् भनेर पहिचान गर्ने अवसर गुमाउन सक्ने उल्लेख गरेका थिए । उनले मृतकको पहिचानसँगै परिवारको धर्म, परम्परा, रीतिरिवाज र संस्कारअनुसार अन्तिम संस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
बाढीमा नेपालीसँगै विदेशी नागरिकसमेत बेपत्ता वा मृत्यु भएको हुन सक्ने भएकाले उनीहरूका आफन्त घटनास्थलसम्म आइपुग्न सक्ने भन्दै शव व्यवस्थापनमा विशेष संवेदनशीलता अपनाउनुपर्ने उनको सुझाव थियो । निरौलाले शव लामो समय राख्दा स्वास्थ्य जोखिम उत्पन्न हुन सक्ने विषयलाई पनि बेवास्ता गर्न नहुने बताएका थिए । आवश्यक प्लास्टिक तथा ठूला क्षमताका शीत भण्डारण उपकरणको व्यवस्था गरेर केही समय शव सुरक्षित राख्न सकिने उनको सुझाव थियो ।
उनले मृतकको पहिचान र सम्मानजनक अन्तिम संस्कारलाई विपद् व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरेका थिए । उनले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तले अन्तिम आशाका रूपमा शव खोजिरहेको अवस्थामा प्रशासनले मानवीय संवेदनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । निरौलाले आफ्नो सुझावलाई मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा कोरोना महामारीका क्रममा शव व्यवस्थापनमा भोगेको अनुभवसँग समेत जोडेका थिए ।
उनको उक्त धारणा सार्वजनिक भएको भोलिपल्टै शव व्यवस्थापनकै जिम्मेवारीसहित रसुवा काजमा खटाइएपछि सामाजिक सञ्जालमा उठाएको प्रश्न र दिएको सुझावलाई अब व्यवहारमै कार्यान्वयन गर्ने जिम्मेवारीसमेत निरौलामाथि आएको छ । निरौलाले भने उक्त फेसबुक स्टाटस हटाइसकेका छन् ।
सरुवा गरिएका निरौलाले आफूलाई किन सरुवा गरिएको भन्ने जानकारी नभएको बताए । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो अनुभव मात्रै शेयर गरेको बताएका छन् ।
प्रकाशित: १४ भाद्र २०८३ २१:३५ आइतबार





-600x400.jpg)