जुम्लामा जंगली विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका-१ मणिसाँघु गाउँका जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन्। लेखकमान महतराको घरमा पकाइएका च्याउ खाएपछि परिवारका सदस्यमा एकाएक स्वास्थ्य समस्या देखिएको हो।
घटना आइतबार दिउँसो करिब ३ बजे भएको हो। बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय बालक पुजन बिष्ट छन्।
च्याउ खाएपछि उनीहरूलाई वान्ता हुने, पेट दुख्ने र अत्यधिक कमजोरीका लक्षण देखिएपछि परिवारजनले तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याएका थिए।
प्रतिष्ठानबाट प्रहरी हवल्दार भक्ति प्रसाद पाण्डेले दिएको जानकारीअनुसार बिरामीको अवस्था हाल सामान्य छ, उपचार भइरहेको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी मणिसाँघुबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको कमान्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरीले जंगली च्याउ पहिचान नगरी सेवन नगर्न सबैमा अनुरोध गरेको छ। अहिलेसम्म घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ श्रावण २०८२ २१:२६ आइतबार





