२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

चुनाव हारे पनि जनताको सेवा गर्छु: धमला

रौतहट क्षेत्र नम्बर-४ बाट भारी मतान्तरले पराजित भएपछि आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले जनताको फैसलालाई स्वीकार गरेका छन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत उनले विजयी उम्मेदवारलाई बधाई दिए।

धमलाले आफूलाई प्राप्त मतको उच्च सम्मान गर्ने बताएका छन्। चुनाव हारे पनि रौतहटबासीको समस्या समाधानमा जीवनभर लागिरहने उनको प्रतिबद्धता छ।

उनले भने, ‘म जनताको काम गर्न आएको हुँ। चुनाव हारे पनि जनतालाई बिर्सने छैन। यहाँको शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न मेरो अभियान जारी रहनेछ।’

धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विजयी उम्मेदवार गणेश पौडेललाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्। देशमा रास्वपाको लहर आएको र पुराना दलले ३५ वर्षमा देश बिगारेकाले जनताले विकल्प रोजेको उनको विश्लेषण छ।

धमलाले भने, ‘मैले ५–६ महिनाअघि नै मधेसको भूमिबाट एक जना प्रधानमन्त्री बन्नुपर्छ भनेको थिएँ। मैले जे भनेको थिएँ, त्यही भयो। बालेन साह यो देशको प्रधानमन्त्री बन्दै हुनुहुन्छ।’

नयाँ सरकार र नेतृत्वलाई आफ्नो पूर्ण समर्थन रहने प्रस्ट पार्दै धमलाले सुशासन र विकासमा ध्यान दिन आग्रह गरेका छन्।

विशेषगरी रौतहटको बन्द रहेको श्रीराम सुगर मिल सञ्चालनमा ल्याउन उनले भावी प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरे। भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी र निःशुल्क स्वास्थ्य–शिक्षाको एजेन्डालाई नयाँ सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको जोड छ।

यस क्षेत्रमा रास्वपाका उम्मेदवार ३६ हजार ८ सय ७६ मतसहित विजयी हुँदा धमलाले भने ६ सय ६५ मत मात्र प्राप्त गरेका थिए।

प्रकाशित: २४ फाल्गुन २०८२ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App