२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

मेला उद्घाटन गर्न गएका मेयरमाथि ढुंगामुडा, दुई प्रहरीसहित पाँच घाइते

रौतहटको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख(मेयर)माथि आक्रमण भएको छ।शनिबार कृष्ण जन्माष्टमीका अवसरमा आयोजित मेला उद्घाटन गर्न गएका मेयर प्रेमलाल साहमाथि ढुंगामुडा भएको हो। 

नगरपालिकाको वडा नं. ९ धरहरिमा अघिल्लो वर्ष कृष्ण मन्दिर निर्माण भएको थियो। सोही मन्दिरको परिसरमा लागेको मेलामा मेयर साह पुगेका थिए। मेला समितिले मेयरलाई स्वागत गरेर मञ्चमा लैजाँदै गर्दा भिडबाट होहल्ला भएको थियो। होहल्लाकै बिचमा आफूले मेला उद्घाटन नगर्ने भन्दै मञ्चबाट तल ओर्लिरहेका मेयरमाथि अन्धाधुन्ध ढुंगा र इटामार्फत आक्रमण भएको थियो।

मेयर साहमाथि स्थानीय राम प्रवेश साह नेतृत्वमा रहेको समूहले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। ढुंगामुडाबाट दुई जना वरिष्ठ प्रहरी हबलदारका साथै दुई सर्वसाधारण पनि घाइते भएका छन्। वरिष्ठ हबलदार द्वय जगदीश यादव र धन सुन्दर ठाकुरको उपचार गरुडा स्थित बेटर नेपाल मल्टी स्पेसलिटी अस्पतालमा भइरहेको छ। 

आक्रमणबाट मेयर साहको टाउकामा गम्भीर चोट लागेको छ। उनको टाउकोमा १६ वटा टाँका लागेको बताइएको छ। मेयर साहको अवस्था गम्भीर रहेकाले वीरगन्ज पठाइएको छ। 

आक्रमण गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रकाशित: ३१ श्रावण २०८२ १८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App