२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

बागलुङ बारमा पहिलो महिला नेतृत्व : गीता श्रीसको ऐतिहासिक जित

उच्च अदालत बार एसोसिएसन बागलुङले पहिलो पटक महिला अध्यक्ष पाएको छ। बागलुङ गलकोट नगरपालिका-११ जन्मघर र बडिगाड-८ मा विवाह भई हाल बानपा-२ बस्दै आएकी गीता श्रीस बागलुङ बारको पहिलो महिला अध्यक्ष निर्वाचित भएकी छन्। 

शुक्रबारदेखि सुरु भएको बारको ३३ औँ अधिवेशनबाट श्रीस अध्यक्षमा चयन भएकी हुन्। यसअघि बारको साधारण सदस्यको रूपमा रहेकी श्रीस बारको अध्यक्ष बन्ने पहिलो महिला हुन्। उनी बारको अध्यक्षमा निर्वाचित भएसँगै आदिवासी जनजाति समुदायअन्तर्गत मगर समुदायको महिलाबाट पहिलो अध्यक्ष बन्ने सौभाग्य श्रीसलाई मिलेको छ।  

अध्यक्षमा लागि अधिवक्ता हरिकृष्ण सुवेदीले पनि उम्मेदवारी दर्ता गरेका थिए। अन्तिम समयमा सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि श्रीस निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक काजी गाउँले श्रेष्ठले बताए। वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, अधिवक्ता डा. डिल्लीराज गौतम र अधिवक्ता ज्ञानेन्द्रराज पन्त रहेको निर्वाचन समितिले शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि श्रीस निर्विरोध निर्वाचित भएको जनाइएको छ।  

बारको उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमा शंकर सापकोटा र कोषाध्यक्षमा रामराजा कँडेल चयन भएका छन्। सदस्यहरूमा नरेन्द्रप्रताप सिंह बुढाथोकी, तेजेन्द्र थापा, प्रकाश बराल र लक्ष्मी देवी जिसी चयन हुँदा मानवअधिकार समितिको सदस्यमा गोविन्दप्रसाद ओझा चयन भएको निर्वाचन समितिका संयोजक काजी गाउँले श्रेष्ठले जानकारी दिए। बारको केन्द्रीय पार्षदतर्फ बद्रीप्रसाद शर्मा, हरि गौतम, गोविन्द गौतम, अखिलनाथ शर्मा चयन भएका छन्। बारमा तीन सदस्य र महिला समिति संयोजक रिक्त छ। सहसचिव पदमा पुग्ने नै महिला समितिको संयोजक रहने वैधानिक व्यवस्था छ। श्रीस डिएलए गण्डकी प्रदेशको सदस्य समेत रहेकी छन्।  

उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षका लागि डिएलए बागलुङले गीता श्रीसलाई र पिपिएलएले हरिकृष्ण सुवेदीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो। अन्तिम समयमा पिपिएलएका अध्यक्ष उम्मेदवार हरिकृष्ण सुवेदी सहित अन्य उम्मेदवारहरूले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि निर्विरोध समिति चयन भएको हो। सहमति नभएमा आइतबार निर्वाचन गर्ने गरी निर्वाचन समिति अगाडि बढेकोमा शनिबार नै उम्मेदवारी फिर्ता भएपछि गीता श्रीसको नेतृत्वमा निर्विरोध समिति चयन भएको हो।  

अध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिँदै श्रीसले सबै क्षेत्रसँग समन्वय गरेर उच्च अदालत बार एसोसिएसन बागलुङलाई अगुवा नागरिक संस्थाको रूपमा अगाडि लैजाने बताइन्। 'बार एसोसिएसन नागरिक संस्था हो, यसलाई भरपर्दो अगुवा नागरिक संस्थाको रूपमा अगाडि बढाउने मेरो पहिलो कार्य हुनेछ,' उनले भनिन्, 'नागरिक सरोकारको विषयमा बार र बेन्चको भूमिकालाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु।' उनले सामाजिक उत्तरदायित्वका विषयलाई प्राथमिकताका साथ बारले उठान गर्ने बताइन्।  

'न्यायपालिकाभित्रको न्यायिक कार्यको सुधारका लागि बारको तर्फबाट वकालत र पैरवी गर्ने कार्यमा हामी लाग्नेछौँ,' उनी भन्छिन्, 'न्यायको पक्षमा सहजीकरण वकालत गर्ने हाम्रो दायित्व पनि हो।' उनले स्थानीय तह सरकारसँग मिलेर वडा-वडा तहसम्म न्यायिक सचेतनाको कामलाई अगाडि बढाउने समेत बताइन्। 'कानुनको अज्ञानताले गर्दा पनि धेरै नागरिकले अनावश्यक दुख पाएको देखिन्छ,' उनले भनिन्, 'गाउँ-गाउँमा न्यायिक सचेतना जगाउनका लागि हामीले स्थानीय सरकारसँग साझेदारी गरेर वडा तहसम्म हाम्रो कार्यक्रमलाई पुर्‍याउने कोसिसमा हुनेछौँ। कानुन अज्ञानता क्षम्य नहुने भएकाले नागरिकलाई सचेत बनाउनु पनि प्रथम दायित्व हुन्छ।'  

कम्तीमा दुई महिनामा एउटा कार्यक्रम गर्ने गरी कार्ययोजना बनाएर अगाडि बढ्ने उनले बताइन्। 'दुई वर्षको कार्यकाल हुन्छ, कम्तीमा दुई महिनामा एउटा कार्यक्रम गर्ने गरी कार्ययोजना बनाउने सोच छ, कार्यसमितिका साथीहरू र अग्रजहरूसँग सरसल्लाह गरेर अगाडि बढ्नेछु,' उनले भनिन्। व्यावसायिक रूपमा वकालत पेसा अंगालेको छोटो समयमै गौरवमय संस्थाको नेतृत्व गर्न पाएको भन्दै उनले सबैसँगको सहकार्यबाट अगाडि बढ्ने बताइन्।  

'मैले पूर्णकालीन कानुन व्यवसायीको रूपमा काम गरेको धेरै भएको छैन, मभन्दा अग्रजहरू धेरै जना हुनुहुन्थ्यो, त्यति हुँदा-हुँदै पनि डिएलएले मलाई अध्यक्षको उम्मेदवारको रूपमा अगाडि बढायो,' उनी भन्छिन्, 'सबैको सहयोगबाट निर्विरोध अध्यक्षमा निर्वाचित हुने अवसर समेत बन्यो। मैले सबैसँग सल्लाह र साझेदारी गरेर अगाडि बढ्नेछु।' २०७६ सालमा बार काउन्सिलको परीक्षा उत्तीर्ण गरेपछि उच्च अदालत बार एसोसिएसन बागलुङको सदस्य भएकी श्रीस कार्यसमितिमा नबसी सिधै अध्यक्ष निर्वाचित हुने भाग्यमानी अध्यक्ष हुन्।

उनले २०७९ सालमा ढोरपाटन कानुनी परामर्श तथा अनुसन्धान केन्द्र नामक ल फर्म स्थापना गरी व्यावसायिक रूपमा वकालत पेसा अंगालेकी हुन्। त्यसअघि उनले साढे तीन वर्ष गाउँपालिका महासंघको कानुन अधिकृत पदमा रहेर देशभरका स्थानीय तहको ऐन-कानुन निर्माणमा सहजीकरण गरेकी थिइन्। २०३९ साल साउन ९ गते बागलुङको गलकोट नगरपालिका-११ रिघामा जन्मेकी श्रीसले २०५६ सालमा रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट एसएलसी उत्तीर्ण गरेकी थिइन्।  

आमाको एकल अभिभावकत्वबाट कठिन संघर्षका साथ हुर्किएकी श्रीसले एसएलसीपछि लेते मुस्ताङबाट जुनियर पशु प्राविधिक कोर्स उत्तीर्ण गरेकी छन्। त्यसपछि तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट आफ्नो उच्च शिक्षाको अध्ययनलाई अगाडि बढाएकी उनले धवलागिरि बहुमुखी क्याम्पस बागलुङबाट समाजशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् भने कानुन विषयमा पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराबाट स्नातक उत्तीर्ण गरेकी छन्।  

श्रीसले कानुन विषयको एलएलएमको पढाइ समेत अन्तिम चरणमा पुर्‍याएकी छन्। सामान्य परिवारमा आर्थिक संघर्षसँग जुध्दै अगाडि बढेकी उनले २०६१ सालदेखि विभिन्न गैरसरकारी र साझेदार संस्थाको सहयोगमा सरकारी कार्यालयहरूमा रहेर काम गरेको अनुभव छ। उच्च आर्थिक हैसियत भएकाले पढ्ने र अंगाल्ने पेसाको रूपमा चिनिँदै आएको वकालत क्षेत्रको संस्थामा गाउँको सामान्य परिवारबाट आएर नेतृत्व गर्ने श्रीस धेरै महिलाका लागि प्रेरणादायक व्यक्तित्व पनि हुन्।

प्रकाशित: १५ भाद्र २०८२ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App