रौतहटको एक सामुदायिक वनको घाटगद्दी गरी राखिएको करोडभन्दा बढी मूल्यको काठमा आगलागी भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका-२ जुडिबेलाको नमुना सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दी गरेर राखेको एक करोडभन्दा बढी मूल्यको सालको काठमा बिहीबार आगलागी भएको हो।
आगलागीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीयवासीसहित वन समूहले नियन्त्रणमा लिएको छ। एक करोडभन्दा बढी मूल्यको उच्च गुणवत्ताको सालको गोलियामा आगो लागेपछि लाखौँको क्षति भएको स्थानीयको भनाइ छ।
२०७६ मा ४०० केभी विद्युतको लाइन विस्तार गर्ने क्रममा काटिएका काठहरू विभिन्न कारणले बिक्री वितरण हुन सकेको थिएन। वर्षौँदेखि काठ त्यत्तिकै राखिएको अवस्थामा आगो कसरी लागेको हो भन्ने विषयमा सोधखोज गरिने स्थानीयको भनाइ छ।
उपभोक्ता समूहको लेखा परीक्षण र साधारणसभा हुन सकेको छैन। समूहले आन्तरिक कामहरू समयमा नगरेको कारण नियमानुसार काठ बिक्री गर्न नमिलेको डिभिजन वन कार्यालयको भनाइ छ।
जुडिबेला सब–डिभिजन वन कार्यालयका अधिकृत बालकिशोर सिंहले अझै पनि समूहभित्र आन्तरिक विवाद रहेको बताएका छन्।
प्रकाशित: २९ माघ २०८२ २०:१८ बिहीबार





