नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले नेपालमा लगानीको सुरक्षा र नीति कार्यान्वयनमा गम्भीर समस्या रहेको औंल्याएका छन्।
बिहीबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रियटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले विगत लामो समयदेखि द्वन्द्व, भूकम्प, नाकाबन्दी र महामारीजस्ता समस्या झेल्दै आएको र राज्यबाट अपेक्षित सुरक्षा पाउन नसकेको बताए।
ढकालले सन् २००४/०५ ताका नेपालको निर्यात व्यापार निकै राम्रो अवस्थामा रहेको स्मरण गरे। ‘त्यतिबेला तयारी पोसाक, कार्पेट, पस्मिना लगायतका वस्तु गरी झन्डै ८४ अर्बको निर्यात हुन्थ्यो,’ उनले भने, ‘तर द्वन्द्वकालमा ती उद्योगहरू पूर्ण रूपमा ध्वस्त भए। त्यसपछि बनेका सरकारहरूले पनि ती उद्योगको पुनरुत्थानका लागि आवश्यक बहस र व्यवस्थापन गर्न सकेनन्।’
अमेरिकाको कोटा प्रणालीलाई दोष दिइए पनि वास्तविक समस्या आन्तरिक द्वन्द्व र उद्योगधन्दामाथिको प्रहार नै मुख्य कारण रहेको उनको भनाइ थियो।
ढकालले हालैको जेन-जी आन्दोलनमा निजी सम्पत्ति र संरचनामाथि भएको तोडफोडले अन्तर्राष्ट्रिय लगानीकर्तामाझ नकारात्मक सन्देश गएको बताए।
चीनमा भएको एक सम्मेलनको प्रसंग कोट्याउँदै उनले भने, ‘मैले नेपाल लगानीका लागि दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हो भनेर बोल्दा मलाई प्रतिप्रश्न गरियो, तिम्रो देशमा अन्तर्राष्ट्रिय ब्रान्डका होटेलहरू जल्दा पनि सुरक्षा दिन सकिँदैन भने हामीले कसरी लगानी गर्ने ?’
उनले सरकारले लगानीको सुरक्षामा प्रतिबद्धता जनाउन नसकेसम्म वैदेशिक लगानी भित्र्याउन मुस्किल पर्ने बताए।
अमेरिकाको लस भेगासको उदाहरण दिँदै उनले विकासका लागि सपना देख्नु आवश्यक रहेको बताए।
‘सपना नदेखी कुनै परियोजना वा नीति बन्दैन, तर नेपालको समस्या एटिच्युडमा छ,’ ढकालले भने, ‘हामी सिद्धान्ततः सहमत भएका कुरालाई पनि कार्यान्वयन गर्ने पक्षमा कहिल्यै गम्भीर संवाद र बहस गर्दैनौँ। यही कारण राजनीतिक दलका घोषणापत्रमा राम्रा कुरा आए पनि व्यवहारमा लागु हुन सकेका छैनन्।’
प्रकाशित: २९ माघ २०८२ २०:१७ बिहीबार





