नेपालगन्जको धम्बोझीमा रहेको वेष्टर्न मार्टको भवनमा आगलागी भएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित सुर्खेतरोडमा रहेको उक्त मार्टको भवनमा शुक्रबार बेलुकी साढे ७ बजेतिर आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दीपक पातलीका अनुसार भवनमा एक्कासी आगलागी भएको थियो।
आगो निभाउन बाँके र बर्दियाका गरेर ७ वटा दमकल प्रयोग गरिएको र अझै पूर्ण रूपले आगो नियन्त्रणमा नआएको डिएसपी पातलीले बताए। आगो नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयको २ वटासहित कोहलपुर नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, नरैनापुर गाउँपालिका र नेपाल आयल निगमको दमकल प्रयोग गरिएको छ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ २१:२४ शुक्रबार





