२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

जुम्ला चुनावी मैदानमा हार्दिकता र सम्मान

हिमा–२ मोफ्ला गाउँको बिहान नारा होइन, चियाको बाफसँगै सुरु भयो। सोमबार बिहान नेकपा उम्मेदवार नरेश भण्डारी र एमाले उम्मेदवार शान्तिलाल महतले सँगै चिया पिए। चियासँगै हार्दिकता साटासाट भयो, चुनावी अनुभव आदानप्रदान भयो, एक–अर्कासँग मत माग्ने अवसर पनि छुटेन।

सामान्य देखिने यो दृश्य जुम्लाको चुनावी इतिहासमा असाधारण ठहरिएको छ। उम्मेदवारबीचको यस्तो आत्मीयता देखेर मतदाता उत्साहित छन् भने नेता–कार्यकर्ता अचम्मित। अघिल्ला निर्वाचनमा उम्मेदवारबीच यति खुला भेटघाट र सद्भाव देख्न नपाएको स्थानीय बताउँछन्। उनीहरूका लागि यो दृश्य दुई व्यक्तिको भेट मात्र होइन, चुनावलाई हेर्ने पुरानो दृष्टिकोणमाथि प्रश्न पनि हो।

चुनावी अभियानमा संलग्न युवा जयकृष्ण जैशीका अनुसार फरक राजनीतिक यात्रामा भए पनि उम्मेदवारबीच आपसी सम्मान र सद्भाव देखिएको छ। लोकतन्त्र प्रतिस्पर्धासँगै सहअस्तित्वको अभ्यास पनि हो भन्ने सन्देश यसले दिएको उनी बताउँछन्।

यस्तै अर्को घटना हिमा–५ बुअ गाउँमा देखियो। कांग्रेस उम्मेदवार दीपबहादुर शाहीको गाउँमा प्रचारका क्रममा पुगेका एमाले उम्मेदवार शान्तिलाल महतले फोनमार्फत शाहीसँग मत मागे। स्वागत र शुभकामनाको आदानप्रदान भयो। चुनावी प्रतिस्पर्धाबीच यस्तो संवाद राजनीतिक परिपक्वताको संकेत मानिएको छ। मत माग्नु आग्रह बनेको छ, अस्वीकार पनि वैर नभई लोकतान्त्रिक प्रक्रिया बनेको छ।

तिला गाउँपालिका–९ राँसा गाउँमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धिताल र कांग्रेस उम्मेदवार दीपबहादुर शाहीबीच पनि भेटघाट भयो। चुनावी गतिविधिसँगै सन्चो–बिसन्चो सोधपुछ भयो। व्यस्त प्रचारबीच मानवीय सम्बन्ध कायम रहेको संकेत यसले दिएको छ।

जुम्लामा हाल १० जना उम्मेदवार मैदानमा छन्। कसैले गालीगलौजको भाषा प्रयोग नगरेको, प्रतिस्पर्धीलाई शत्रु नठानेको बताइन्छ। चुनावपछि समग्र विकासका लागि सहकार्य गर्ने साझा बुझाइ देखिएको छ। जित–हारभन्दा बाहिरको सहकार्यको सोच चुनावी वातावरणमा स्पष्ट छ।

उम्मेदवारबीचको भेटघाटका तस्बिर सामाजिक सञ्जालमा फैलिएका छन्। ती तस्बिर प्रचार सामग्री मात्र होइन, राजनीतिक संस्कारमा आएको परिवर्तनको संकेतका रूपमा हेरिएका छन्। कसैले वाचापत्र, कसैले प्रतिज्ञापत्र, कसैले संकल्पपत्र र कसैले घोषणापत्र सार्वजनिक गर्दै मतदातामाझ छन्। आरोप–प्रत्यारोपभन्दा विकास र सेवाका एजेन्डा बलिया देखिएका छन्।

स्थानीय गोपाल बुढाका अनुसार यसपटक प्रचार शैली भड्किलो नभई नरम र मैत्रीपूर्ण छ। पहिले समर्थकबीच विवाद हुने, चुनावपछि लामो समयसम्म बोलचाल बन्द हुने अवस्था देखिन्थ्यो। यसपटक उम्मेदवारबीच समझदारी देखिएकाले समर्थक तहमा पनि विभेद कम भएको छ।

यो परिवर्तन समर्थकसम्म पुगेको छ। गालीको साटो बहस, दूरीको साटो संवाद देखिन थालेको स्थानीय बताउँछन्।

यस निर्वाचनमा ज्ञानबहादुर शाही र नरेश भण्डारी पुनः मैदानमा छन्। अन्य आठ उम्मेदवार कोही पार्टीको जित दोहोर्याउने दाउमा, कोही नयाँ इतिहास रच्ने प्रयासमा छन्। तर चुनावी माहोल शान्त र सौहार्दपूर्ण देखिएको छ।

जिल्लाका ८ स्थानीय तहका ६० वडामा प्रचारप्रसार जारी छ। मतदाताले सबै उम्मेदवारलाई समान व्यवहार गरिरहेका छन्। फरक विचार र आस्था भए पनि जितेपछि सबैको प्रतिनिधि हुने सोचले मतदातामा समानता देखिएको छ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ छ। जसमध्ये ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष छन्। दुई अस्थायी मतदान केन्द्रसहित १ सय ८ मतदान केन्द्र र ८५ मतदान स्थल तोकिएका छन्। ६ सय ४८ कर्मचारी खटाइसकिएको जानकारी दिइएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App