१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बाबुको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका बाहरू

पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औंसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ। बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा छ। बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्छन्।

पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका बाहरू भने दाता पर्खेर बसेका छन्। जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलिएर यहाँ आएका छन्। कतिपयको साहारा कोही नभएर पनि आश्रय लिन यहाँ आइपुगेका छन्। हरेक वर्षमा आउने आमा खुवाउने दिन (माता तीर्थ औंसी) र कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनमा त्यहाँ बस्ने वृद्ध बा र आमाहरू कोही दाता आएर सम्मान गर्ला भनेर पर्खिरहेका छन्।

देवघाट गाउँपालिका-५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयनीय छ। नुवाकोटबाट आएर बस्ने ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झदा मन अमिलो हुने बताउँछन्। औंसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछ भन्ने भान भएको उनले बताए।

श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निराश हुन्छन्। उनले भने, ‘वृद्धावस्थामा निकै समस्या हुन्छ, छोराहरूको साहारा चाहिने समयमा उनीहरू सम्पर्कमा छैनन्, कसरी साहारा पाउनु।’ अहिले भगवानको भरोसामा जीवन छाडेको उनको भनाइ छ। उनले थपे, ‘अहिले जो सम्झेर आउँछन्, तिनै छोराछोरी हुन्।’ आश्रममा आएर जसले बा भन्छ र मीठो खान दिन्छ, तिनै छोराछोरी जस्तो लाग्ने उनले बताए। उनी विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएका छन्।

दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा-छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएका छन् भरतपुर महानगरपालिका-६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा। उनको वैवाहिक जीवन सफल नभएपछि उनी आश्रममा आएर बस्न थाले। जन्मिएका छोराछोरी नबचेपछि श्रीमतीले पनि उनलाई छाडेर गए। एक्लो जीवन बिताउन आश्रममा आएका विश्वकर्मा अहिले आश्रममा आउने सबैलाई छोराछोरीको रूपमा लिन्छन्। उनले भने, ‘आफ्ना त छैनन्। जो आउँछ, त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ,’ उनले सुनाए, ‘बाबुको मुख हेर्ने दिन जो आउँछ, त्यो नै छोराछोरीजस्ता लाग्छ। बा खुवाउने दिनमा जसले दिन्छ, त्यही छोराछोरी हुन्।’

बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित छन्। उनको भाइ र बहिनी बागलुङमा छन्। समाजमा देखेर विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने उनलाई लाग्छ। परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि कसैले बा भनेर बोलाउँदा मन फुरुङ्ग हुने उनले सुनाए। उनले भने, ‘जसले बा भन्छ, त्यसको दुख मलाई नै परोस् भनेर भन्छु,’ उनले थपे, ‘सबै आफ्नै हुन्। जसले बा भन्छन्, सबै सन्तान आफ्नै हुन्।’

देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा छन्। यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष चाडपर्व यस्तै हुने गरेको छ। क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा छन्। जसमा १७ जना वृद्ध र १८ जना वृद्धा छन्। उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनले बताए।

सुरुमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ। उनले भने, ‘जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायतमा सहयोग गर्ने दाताको भरमा दैनिकी चलाउनुपरेको छ।’ सरकारी कुनै पनि निकायबाट बजेट नहुँदा दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए।

क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपान र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त नभएको बताए। दाताहरूको सहयोगमा भए पनि यहाँ रहेका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उनले कुनै कमी नहोस् भन्ने गरी काम गरिएको बताए। उनले भने, ‘समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौं। यसलाई निरन्तर राख्न सक्नुपर्छ।’

यसैबीच प्रेस चौतारी नेपाल चितवन शाखाले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा दर खाने कार्यक्रम गरेको छ। शाखाले शुक्रबार साँझ वृद्धवृद्धाहरूलाई भोजन गराएर दर खाने कार्यक्रम गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए। उनका अनुसार शाखाले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ। नारायण अधिकारी/रासस

प्रकाशित: ७ भाद्र २०८२ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App