६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

रोपो कुहिन थालेपछि किसान चिन्तित

यहाँको काठेखोला गाउँपालिका-१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ। गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो। थप नकुहियोस् भनेर औषधि छर्किए तर कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उनको भनाइ छ।

काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका अधिकांश किसान खत्रीको जस्तै रोपो कुहिने समस्याले चिन्तित छन्। किसानले कृषि ज्ञान केन्द्रमा रोपो कुहिएको र सुकेको जानकारी गराएका छन्। ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालसहितका प्राविधिकको टोलीले स्थलगत जाँच गरेको छ।

गवारो कीरा र खेत कुहिने रोगका कारण अधिकांश किसानको रोपो कुहिएको र सुकेको सिलवालले बताए। सिलवालका अनुसार किसानमा प्राविधिक ज्ञानको अभावले रोपो कुहिने र सुक्ने समस्या देखिएको हो।

जथाभावी झारनाशक विषादीको प्रयोग गरेका कारण पनि रोपोमा समस्या देखिएको उनले बताए। “रोपो कुहिएको र सुकेको भन्दै दैनिक कृषि ज्ञान केन्द्रमा सात जनाभन्दा बढी किसान आउनुहुन्छ,” सिलवालले भने, “खेतमै पुगेर अनुगमन गर्ने र सल्लाह सुझाव दिने गरेका छौं।”

गौरिया, मसिनो, गुडुरा, जेठोबुढो र हाइब्रिड धानमा बढी समस्या देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी बताए। निरीक्षणपछि समस्या अनुसार विषादी दिएर पठाउने गरेको उनले बताए।

उनका अनुसार रोपो पहेँलो हुने समस्या देखिएपछि किसानले युरिया मल प्रयोग गर्दा समस्या थपिएको हो। जिल्लामा धानखेती हुने पाँच हजार ७०७ सात हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ४७८ हेक्टर क्षेत्रफलमा यस वर्ष रोपाइँ भएको छ। 

प्रकाशित: १० भाद्र २०८२ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App