१ चैत्र २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गरेका छन्।

ग्याल्पो ल्होसार, २१५३ को पावन अवसरमा आज सम्पूर्णमा शुभकामना दिँदै उनले धार्मिक श्रद्धा, सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको प्रतीक बनेर ग्याल्पो ल्होसार पर्वले देशलाई प्रगति, शान्ति र समृद्धिको मार्गमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

शुभकामना सन्देशमा उनले स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिए। नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने विश्वास लिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्ने बताएका छन्।

शुभकामना सन्देशमा भनिएको छ, 'परम्परागत पोसाक, मौलिक नृत्य, भजन–किर्तन र सांस्कृतिक कार्यक्रमले हाम्रो विविधतायुक्त समाजलाई जीवन्त राख्ने कार्य यस पर्वले गर्दै आएको छ, ग्याल्पो ल्होसार, शेर्पा समुदायको मात्र पर्व नभई सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदा हो, जसले बहुभाषा र बहुसंस्कृतिलाई सम्मान गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्छ।'

यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशीर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुकआदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीको मौलिक पहिचान हो। यसले रैथाने संस्कृतिको जगेर्ना गर्दै कृषि उपजको महत्वलाई उजागर गर्दछ।

प्रकाशित: ६ फाल्गुन २०८२ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App