राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छन्।
नयाँ वर्ष शुभारम्भको खुसियालीमा मनाइने शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उनले नेपाली पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन्।
उनले भनेकी छन्, 'बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचानहरु हुन्। हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, भूगोल, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ। हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग हो।'
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ। यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ। पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ।
प्रकाशित: ६ फाल्गुन २०८२ ०७:३० बुधबार





