मानो रोपेर मुरी फलाउन धान रोप्ने असार महिना सकिनै लाग्दा बागमती प्रदेशका अधिकांश किसानको खेतमा रोपाइँको चहल पहलभन्दा चिन्ता बढी देखिन्छ। आकाशतर्फ हेर्दै पानीको प्रतीक्षा गरिरहेका किसानका लागि रासायनिक मलको अभावले थप पीडा थपेको छ।
समयमै वर्षा नहुँदा खेतमा पर्याप्त हिलो बन्न सकेको छैन। यति मात्रै होइन, सरकारी अनुदानको मल सहज रूपमा नपाउँदा किसानहरू दोहोरो मारमा परिरहेका छन्।
सरकारी तथ्यांकलाई नै केलाउने हो भने बागमती प्रदेशमा ३५ प्रतिशत हाराहारीमा मात्रै धान रोपाइँ हुन पाएको छ। जुन गत वर्षको यही अवधिको तुलनामा निकै कम हो। गत वर्ष यही अवधिसम्ममा अधिकांश भूभाग (आधाआधी भन्दा बढी) मा रोपाइँ भइसकेको थियो।
बागमती प्रदेशमा कुल एक लाख १४ हजार ५ सय २४ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने गरेको तथ्यांक छ। तर अहिलेसम्म तीमध्ये ३८ हजार २६ हेक्टर (३५ प्रतिशत) क्षेत्रफलमा मात्रै धान रोपाइँ सकेको छ।
गत वर्ष बागमती प्रदेशमा एक लाख २० हजार ५ सय ४५ हेक्टर क्षेत्रफल धान रोप्न योग्य क्षेत्र थियो। तीमध्ये ६२ हजार पाँंच सय ६० (५२ प्रतिशत) क्षेत्रमा रोपाइँ भएको थियो।
सामान्यतया असारको दोस्रो सातासम्म रोपाइँले गति लिइसक्नेमा यस वर्ष मनसुन कमजोर हुँदा खेतहरू बाँझै देखिएका छन्। पानी भएको ठाउँमा पनि मलको अभावले किसान चिन्तित छन्।
बजारमा मल खोज्दा सहज उपलब्ध नभएको किसानहरु बताउँछन्। कतिपय किसानले निजी रूपमा महँगो मूल्य तिरेर मल किन्न बाध्य भएको पनि बताएका छन्।
एक जना किसान भन्छन्, ‘असार सकिन लाग्यो, खेत अझै सुख्खा छ। मल पाइँदैन, पानी पर्दैन। यस्तो अवस्थामा खेती गर्ने उत्साह नै हराउँदै गएको छ।’
मेहनती यहाँका किसानले पानी नभए पनि मिलेसम्मका ठाउँंहरुमा खेला, इनार आदिबाट पम्पले पानी तानेर धान रोपेका देखिन्छन्। साथै कति ठाउँंहरुमा कम पानीमै धान रोपेको देखिन्छ। रोपाइँ ढिला भए धान उत्पादनमा ह्रास आउला भन्ने चिन्ताले किसान धान रोप्न पाउने आशामा छन्।
कृषि विज्ञहरूका अनुसार धान रोप्ने उपयुक्त समयमा पानी र मल दुवैको अभाव हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ। ढिलो रोपाइँ हुँदा उत्पादन घट्ने मात्र नभई रोग तथा कीराको जोखिम पनि बढ्ने उनीहरूको भनाइ छ।
सरकारले प्रत्येक वर्ष धान रोपाइँको समयमा पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा किसानले त्यसको अनुभूति गर्न सकेका छैनन्। यस वर्ष पनि देशभर नै धान रोपाइँको मुख्य समयमा मल वितरण र आपूर्ति व्यवस्थापनमा समस्या देखिएका छन्।
सरकारले अर्बौं रुपैयाँको रासायनिक मल आयात गरेपनि वितरण प्रणाली कमजोर हुँदा किसानले आवश्यक समयमा मल पाउन नसकेका बताएका छन्।
कृषि विभागका उपमहानिर्देशक डा दिवसराज विष्ट ढिला मनसुनका कारण समयमै रोपाइँ हुन नसकेको बताएका छन्। सिचाईको बन्दोबस्त मिलाउन सके आकाशे पानीको भर पर्न नपर्ने र निर्धारित समयमै रोपाइँ गर्न पाउने उनको भनाई छ।
जलवायु परिवर्तनका कारण अनियमित वर्षा, सिँचाइ पूर्वाधारको अभाव र मल आपूर्तिमा दोहोरिने समस्या समाधान नगरेसम्म नेपालको कृषि क्षेत्र यस्तै संकटको चक्रमा फसिरहने देखिन्छ।
प्रकाशित: २१ असार २०८३ १८:१६ आइतबार



-600x400.jpg)

