नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले आफूहरूले अगाडि सारेका एजेण्डालाई जिल्ला–जिल्लामा पुर्याइने उद्घोष गरेका छन्। नेपालगन्जमा सोमबार बिहानआयोजित पत्रकार भेटघाटमा उनले किसानका विभिन्न समस्या र मागलाई सम्बोधन गर्न सरकारलाई दबाब स्वरुप महासंघले जिल्लासम्म अभियान सञ्चालन गर्न लागेको प्रष्ट्याए।
‘हाम्रा एजेण्डालाई हामी जिल्ला–जिल्लामा लगेर जान्छौं, किसानमा केहीन केही चेन्ज आउनुपर्छ,’ उनले भने, ‘किसानलाई हामीआधुनिक प्रविधिसँग जोडेर व्यवसायमुखी बनाउन चाहन्छौं। ’महासंघले समयमै धान खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दबाब सिर्जना गर्दै आएको र उखु, दुध र स्याउ उत्पादक किसानको बाँकी बक्यौता भुक्तानी गराउन पनि सरकार लगायतका निकायसँग आवश्यक समन्वय गरेको अध्यक्ष तिमिल्सेनाको जोड छ।
किसानलाई रासायनिक मल वितरण कार्यलाई प्रभावकारी बनाउन महासंघले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइरहेको बताउँदै भने, ‘रासायनिक मल बिक्री, वितरण गर्ने जिम्मा सहकारी संस्थालाई दिँदा कतै राम्रो भएको छ, कतिपय ठाउँमा विकृति पनि निम्तिएको छ, किसानले सहकारीको विकल्पमा सिधैं मल खरिद गर्न पाउनुपर्छ।’ नेपाल–भारत खुल्ला सीमाका कारण नेपाली किसानले उत्पादन गर्ने वस्तुलाई भारतीय उत्पादनले विस्थापित गर्ने गरेको उनको भनाइ छ।
नेपाली कांग्रेसका नेता समेत रहेका महासंघ अध्यक्ष तिमिल्सेनाले पार्टीभित्र जेन–जी पुस्ताको प्रतिनिधित्व गराउन नियमित महाधिवेशन गर्नुको विकल्प नभएको धारणा राखे। विशेष महाधिवेशनले केन्द्रीय नेतालाई मात्र व्यवस्थापन गर्ने जिकिर गर्दै अध्यक्ष तिमिल्सेनाले भने, ‘१४ औं महाधिवेशनमा निर्वाचित भएका वडा तहदेखि केन्द्रसम्मका पदाधिकारीको चार वर्षे कार्यकाल आउँदो मंसिरमा सकिँदैछ, यस्तो अवस्थामा नियमित महाधिवेशन गर्नु नै उत्तम विकल्प हो, नियमित महाधिवेशन गर्दा नयाँ क्रियाशीलता दिएर जेन–जी पुस्ता समेतको प्रतिनिधित्व गराउन सकिन्छ, नियमित महाधिवेशनले मात्र जेन–जी आन्दोलनको भावनाको कदर गर्नेछ।’
नियमित महाधिवेशनको नाममा पार्टीका वर्तमान पदाधिकारीको कार्यकाल थप्ने पक्षमा किसान महासंघ नरहेको उनले प्रष्ट पारे। पार्टीका अधिकांश भातृ तथा शुभेच्छुक संस्थाले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सहमति गरेर पार्टी नेतृत्वलाई सुझाव दिइसकेको अध्यक्ष तिमिल्सेनाले जानकारी दिए।
प्रकाशित: २४ कार्तिक २०८२ ११:३९ सोमबार





