सुर्खेत प्रहरीले विशेष अभियान चलाएर ठूलो मात्रामा नक्कली पैसा र लागूऔषध अफिम बरामद गरेको छ। यस क्रममा १३ लाख रुपैयाँ बराबरका नक्कली नोट र ३० किलोभन्दा बढी अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।
प्रहरीले वीरेन्द्रनगर–१०, शान्ति टोलबाट जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई नक्कली नोट चलाएको गोप्य सूचनाका आधारमा नक्कली ६ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले कुशे गाउँपालिका–५, जाजरकोटकै ३३ वर्षीय रामबहादुर सिंह र दिलमाया सिंहको डेराबाट थप १२ लाख ३६ हजार रुपैयाँ बराबरका १ हजार दरका १२ सय ३६ थान नक्कली नोट बरामद गरेको छ ।
यसैगरी, अनुसन्धानकै क्रममा प्रहरीले कुशे गाउँपालिका–७, समकोट जाजरकोट घर भई भेरीगंगा नगरपालिका–१२, ठकुरी टोलमा बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर विकको कोठामा खानतलासी गर्दा ११ किलो ३७२ ग्राम अफिम नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ ।
लागूऔषध र जाली नोट कसुरको थप अनुसन्धान गर्दै जाँदा सुर्खेत प्रहरीसहित इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नरहरीनाथ गाउँपालिका–४, कालिकोट घर भई हाल बाँके कोहलपुर नगरपालिका–११, न्यूरोडमा ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ ।
उसको मिडिया हाउस तथा डेराबाट १ हजार दरका ५१ हजार रुपैयाँ नक्कली नोट र १९ किलो ३ सय ग्राम अफिम बरामद भएको एसपी शाहीले बताए । प्रहरीले मिडिया हाउसबाट नक्कली नोट बनाउन प्रयोग गरिने कम्प्युटर, प्रिन्टर र क्यामेरा पनि बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई लागूऔषध, अफिम, मुद्रा सम्बन्धी कसुर र सङ्गठित अपराध कसुर अन्तर्गत कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।
प्रकाशित: ३१ असार २०८२ १८:५६ मंगलबार





