२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

जुम्लामा हवाई सेवा सुधारबारे सरोकारवालाबीच बृहत् अन्तरक्रिया

दुर्गम जिल्ला जुम्लाको जीवनरेखाका रूपमा रहेको हवाई सेवालाई सहज, नियमित र नागरिकमैत्री बनाउने विषयमा नागरिक उड्डयन प्राधिकरणको पहलमा जुम्लामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल एयरलाइन्स, निजी एयरलाइन्स, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख प्रदीप अर्यालले जुम्ला विमानस्थलको इतिहास, वर्तमान अवस्था, विद्यमान समस्या र चुनौतीबारे प्रस्तुति दिँदै टिकटको अभाव र सहज उपलब्धता नहुनु प्रमुख समस्या भएको बताए। उनले भने, “हवाई सेवा दुर्गम क्षेत्रका नागरिकका लागि सामाजिक अधिकार हो। यसलाई नागरिकसम्म सहज रूपमा पुर्‍याउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ।”

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल (आचार्य)ले स्थानीय नागरिकका गुनासा र त्यसको समाधानका लागि भएका प्रयासबारे जानकारी गराउँदै निजी एयरलाइन्सले स्थानीयस्तरमा कार्यालय नखोल्दा र टिकट वितरण प्रणाली व्यवस्थित नहुँदा नागरिक, विशेषतः बिरामी तथा आकस्मिक यात्रा गर्नुपर्नेहरू बढी प्रभावित भएको बताइन्। उनले यस विषयलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन्।

अन्तरक्रियामा स्थानीय तहमा एयरलाइन्सका कार्यालय सञ्चालन, अनलाइनमार्फत सहज टिकट प्रणाली विकास र केन्द्रीय तहमा नीति, दरबन्दी तथा निगरानी प्रणाली सुधारका तीन मुख्य विषयमा छलफल भएको थियो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले विमानस्थलभित्र रहेका कार्यालयहरू तत्काल बाहिर सारेर सेवाग्राही नागरिकको सहजता सुनिश्चित गर्नुपर्ने सुझाव दिए। उनले भने, “सेवाग्राहीलाई मुस्कानसहित सेवा दिनु एयरलाइन्सको दायित्व हो। टिकट व्यवस्थापनमा सहजता ल्याउन विगतमा भएका निर्णयहरू तत्काल कार्यान्वयन हुनुपर्छ।”

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जहाज प्रतिनिधिलाई टिकट काउन्टर सञ्चालनका लागि समयसीमा निर्धारण गर्न निर्देशन दिए। साथै, विमानस्थल व्यवस्थापन कार्यालयलाई विगतका निर्णय कार्यान्वयन गर्न आवश्यक गृहकार्य गर्न निर्देशन दिँदै सबै पक्षलाई जिम्मेवार बनाउने प्रतिबद्धता जनाए।

नगरपालिकाका जनप्रतिनिधिहरूले पनि स्थानीय नागरिकका लागि टिकट प्रणाली सरल र पहुँचयोग्य बनाउन जोड दिएका छन्। चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत र उपप्रमुख रामदेवी खड्काले स्थानीयस्तरमै सहज पहुँच सुनिश्चित गर्न पहल आवश्यक रहेको बताए।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले विगतका निर्णय कार्यान्वयनका लागि जहाज प्रतिनिधिहरू जिम्मेवार हुनुपर्ने बताए भने नेपाल पत्रकार महासंघ जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले स्थानीय र केन्द्रीय तहबीच जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिए।

नेपाल एयरलाइन्स तथा निजी एयरलाइन्स—सिमिट एयर, तारा एयर र सिता एयरका प्रतिनिधिहरूले सेवाको नियमितता, दरबन्दी व्यवस्थापन र टिकट सहजताका लागि सुधारात्मक पहल आवश्यक रहेको धारणा राखे।

जुम्लाको दुर्गम भूगोल र सीमित सवारी साधनका कारण हवाई सेवा नागरिक जीवन र स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहँदै आएको छ। तर टिकट अभाव, निजी एयरलाइन्सका कार्यालयको अनियमितता, नीति अस्पष्टता तथा अनलाइन पहुँचको कमीले सेवामा अवरोध सिर्जना गर्दै आएको स्थानीयवासीको गुनासो छ।

स्थानीय र केन्द्रीय तहबीच प्रभावकारी समन्वय, अनलाइन टिकट प्रणालीको विकास, एयरलाइन्समाथि नियमित निगरानी तथा निरीक्षणको कार्यान्वयन भए मात्र नागरिकको सहज हवाई पहुँच सुनिश्चित हुने सरोकारवालाहरूको निष्कर्ष रहेको छ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाले अन्तरक्रियापछि विमानस्थलमा सुविधा विस्तार, सेवा नियमितता र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न ठोस कदम चालिने जनाएको छ। यस अन्तरक्रियालाई केवल छलफलमा सीमित नभई कार्यान्वयनको सुरुवातका रूपमा लिइएको छ।

प्रकाशित: ६ पुस २०८२ २१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App