२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ क्षेत्र विस्तार

बागलुङका किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ। कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो।  

यहाँको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुन्छ। कम लगानीमा धेरै आलु उत्पादन गर्न सकिने भएकाले ‘खायन आलु’को क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालले जानकारी दिए। आर्थिक वर्ष २०८०/०८१ देखि खायन आलुखेतीको क्षेत्र विस्तार गर्न थालिएको प्रमुख सिलवालको भनाइ छ।  

उनका अनुसार २०८०/०८१ मा रु दुई करोड ६० लाख, २०८१/०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार रकम आलुखेती क्षेत्र विस्तारमा खर्च गरिएको छ। खायन आलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बिउ लगाइन्छ, प्रमुख सिलवालले बताए। यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु विस्तार गर्ने लक्ष्य छ।  

प्रमुख सिलवालले भने, ‘बागलुङ जिल्लामा खायन आलु राम्रो उत्पादन हुन्छ, किसान पनि उत्साहित छन्, आलु उत्पादन गरेर जीविकोपार्जन गर्न यस कार्यक्रमले टेवा पुर्‍याउँछ।’  

हाल जिल्लामा तीन हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ। अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष किसानले आलु भित्र्याइसकेका छैनन्। बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, पोखरा, बुटवल, चितवनलगायतका सहरमा पुग्छ।  

खायन आलुमा सिँचाइ र मलको व्यवस्थापन हुने भएकाले उत्पादन बढ्छ, ढोरपाटन नगरपालिका–५ का किसान कृष्णलाल कँडेलले बताए। यो आलु खेती गर्न थालेपछि हरेक वर्ष आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।  

कृषि ज्ञान केन्द्र बागलुङले यस वर्ष रु ३७ लाख लगानीमा खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। कृषि सहकारी र समूहमार्फत खाद्यान्न बाली प्रवर्द्धन गर्न थालेको हो। कम्तीमा एक समूहले एउटा बाली १०० रोपनीमा खेती गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ। रासस

प्रकाशित: २३ भाद्र २०८२ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App