१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रमाण खोजिँदै

प्राचीन कपिलवस्तुस्थित तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले यस वर्ष पुनः उत्खनन सुरु गरिएको छ। गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न इकोमोसको बैठकमा तिलौराकोटलाई सूचीकरणका लागि प्रस्ताव गरिएको भए पनि रिफर गरिएपछि यस वर्ष फेरि उत्खनन थालिएको हो।

तिलौराकोट राजा शुद्धोधनको राजप्रासाद तथा सिद्धार्थ गौतमले २९ वर्ष बिताएको ऐतिहासिक स्थल हो। पुरातत्व विभाग र लुम्बिनी विकास कोषको आयोजनामा बेलायतको डरहम विश्वविद्यालयका विज्ञहरूको टोलीले उत्खनन सुरु गरेको हो। करिब २० दिनसम्म उत्खनन तथा अनुसन्धान कार्य सञ्चालन हुने जनाइएको छ।

यस अवसरमा पुरातत्व विभागकी निर्देशक शौभाग्य प्रधानाङ्कले गत वर्ष पेरिसमा तिलौराकोट विश्व सम्पदा सूचीमा पर्नका लागि रिफर गरिएपछि त्यही अनुसार माग गरिएको आवश्यक प्रमाण जुटाउन उत्खनन तथा अनुसन्धान सुरु गरिएको बताइन्। यस वर्ष अघिल्लो पटक फेला परेको सेन्ट्रल कम्प्लेक्सको पुनः उत्खनन र अनुसन्धान गरिने उनले जानकारी दिइन्।

उनले भनिन्, “गत वर्ष पेरिसमा तिलौराकोटमा फेला परेका प्रमाणबाट सकारात्मक संकेत आएका थिए, तर सोही बैठकले थप प्रमाण माग गर्दै रिफर गरेको थियो।” अहिले त्यही प्रमाण जुटाएर पुनः विश्व सम्पदा सूचीमा प्रस्ताव लैजाने तयारी गरिएको उनले बताइन्।

उनका अनुसार नेपालका १५ वटा सम्भावित सूचीमध्ये तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने तयारी भइरहेको छ। यसले तिलौराकोटको संरक्षण तथा यसको महत्व उजागर गर्न मद्दत पुग्ने उनको भनाइ थियो।

उत्खननसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले गुरुयोजना अनुसार तिलौराकोटको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए। उनले तिलौराकोटलाई हेर्न लायक स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले यस वर्ष थप प्रमाण जुटाउन उत्खनन तथा अनुसन्धान गरिएको बताए। उनले तिलौराकोटको संरक्षण र विकासका लागि पर्यटकको ध्यान आकर्षित गर्ने गरी विकास गरिने जानकारी दिए। तिलौराकोट क्षेत्रमा शौचालय निर्माण लगायतका विषयमा केही दिनभित्र बैठक बसेर आवश्यक निर्णय लिने पनि उनले बताए।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले तिलौराकोटमा सन् २०१४ देखि विज्ञहरूको टोलीले १० वर्षसम्म उत्खनन तथा अनुसन्धान गरेको जानकारी दिए। डोसियरका लागि आवश्यक प्रमाण जुटाउन यस वर्ष संशोधित रूपमा उत्खनन तथा अनुसन्धान गरिने उनले बताए। तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र बनाउन विगत एक दशकदेखि जग्गा अधिग्रहणको कामसमेत जारी रहेको र २०७३ सालदेखि ५० बिघाभन्दा बढी जग्गा अधिग्रहण भइसकेको उनले जानकारी दिए। तिलौराकोट क्षेत्र हाल करिब सय बिघासम्म विस्तार भइसकेको पनि उनले बताए।

विगत वर्षहरूमा पोखरी उत्खननका क्रममा मौर्यकालीन पोखरीको भग्नावशेष, कुषाणकालीन सिक्का, पाञ्चमार्क सिक्का तथा विभिन्न किसिमका माटोबाट बनेका आकृतिहरू फेला परेका थिए। साथै तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, दरबारको पूर्वी प्रवेशद्वार, कन्थक स्तूप, शिवगढ तथा तिलौराकोटको उत्तरतर्फको खाली क्षेत्रमा उत्खनन गरिएको थियो।

यस वर्ष डरहम विश्वविद्यालयका ४ जना र नेपालका विज्ञसहित १४ जनाभन्दा बढीको टोलीले उत्खनन तथा अनुसन्धान कार्य गर्ने बताइएको छ।

प्रकाशित: ८ माघ २०८२ २१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App