नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको दृष्टिमा सबै नागरिक बराबर रहेको बताएका छन्।
सर्लाहीको बरहथवामा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा महानिरीक्षक कार्कीले प्रहरी संगठनले कुनै पनि जातजाति, भाषा, धर्म वा लिङ्गका आधारमा विभेद नगरी समस्या र पीडाका आधारमा सेवा प्रवाह गर्ने स्पष्ट पारे।
‘प्रहरीको नजरमा कोही सानो वा ठूलो हुँदैन, न्यायका लागि आउने सबै समान हुन्,’ कार्कीले भने।
महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा बिचौलियाको रजगज अन्त्य गर्न मातहतका निकायलाई निर्देशन समेत दिए।
पीडितले आफ्ना कुरा निर्धक्कसँग राख्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले बिचौलियामार्फत हुने कामकारबाही तत्काल रोक्न निर्देशन दिए।
‘कतिपय अवस्थामा पीडितले बोल्न नपाउने र बिचौलियाले नै सबै कुरा मिलाइदिने गरेको गुनासाहरू आउने गरेका छन्,’ कार्कीले भने, ‘अब प्रहरी कार्यालयमा पीडित स्वयम्ले आफ्ना कुरा राख्न पाउनुपर्छ, बिचौलियाको कुरा सुनेर काम गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।’
उनले समाजका बोल्न नसक्ने, निमुखा र पीडित वर्गको भावना बुझेर काम गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गरे।
महानिरीक्षक कार्कीले प्रहरी अधिकृतहरूलाई फोटो खिचाउने बहानामा आउने व्यक्तिहरूसँग विशेष सतर्कता अपनाउन सुझाव दिए। पहुँच देखाउन र त्यसको दुरुपयोग गर्नका लागि प्रहरी हाकिमसँग फोटो खिचाउने प्रवृत्ति बढेको भन्दै उनले सचेत गराए।
केही समयअघि सर्लाहीमै आफ्नो नाम लिएर एक व्यक्ति प्रहरी कार्यालयमा पुगेको घटना स्मरण गराउँदै कार्कीले भने, ‘फोटो देखाएर वा नाम बेचेर प्रभावमा पार्न खोज्ने बिचौलियाहरू हुन सक्छन्, त्यसतर्फ प्रहरी अधिकृतहरू सजग रहनुपर्छ।’
मुलुक निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, सभ्य र धाँधलीरहित बनाउन पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए।
सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्न उनले प्रहरीलाई सचेत गराए।
साथै, उनले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम छर्ने र शान्ति खलबल्याउने तत्वहरूमाथि निगरानी राख्न निर्देशन दिए। साइबर अपराध र सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्नेमा उनको जोड थियो।
प्रकाशित: २२ माघ २०८२ २०:४७ बिहीबार





