इलामको सन्दकपुर गाउँपालिका–१, माइपोखरीका सगरमाथा आरोही राजेन्द्र मुखिया सुनुवारलाई गृह जिल्लामा सम्मान गरिएको छ। इलामस्थित सुनुवार सेवा समाजले आफ्नो समुदायबाट पहिलो पटक सगरमाथा चुचुरो चुम्न सफल सुनुवारलाई सम्मान गरेको हो।
राजेन्द्रले गत जेठ ९ गते बिहान ४:४० बजे सगरमाथा चुचुरो चुमेका थिए। भारतीय सेनामा कार्यरत सुनुवारले सगरमाथामा पाइला राख्न निकै चुनौती सामना गर्नुपरेको बताए। ‘आरोहण टोलीमा हामी सात जना थियौँ, निकै संघर्षपूर्ण यात्रा तय गर्नुपर्ने रहेछ,’ उनले अनुभव सुनाए, ‘हामी अरू त सफल भयौँ तर हाम्रा आरोहण टोली नेता त्यसबेला बेहोस भए, उनको अहिलेसम्म भारतको अस्पतालमा आइसियुमा उपचार भइरहेको छ।’
सुनुवारले आफूले सगरमाथा आरोहणबाट नयाँ अनुभव गर्न पाएको सुनाए। ‘सानैदेखिको साहसिक काम गर्ने एउटा सपना पूरा भएको छ,’ उनले भने, ‘सबैले साथ दिए, सबैलाई धन्यवाद।’
राजेन्द्रलाई सुनुवार समाजका पूर्वकेन्द्रीय अध्यक्ष किरण सुनुवार, जिल्ला अध्यक्ष लीलाबहादुर सुनुवारलगायतले बधाई र शुभकामना दिए। राजेन्द्रले सुनुवार समुदायका लागि मात्र होइन, सिंगो इलाम, देश र विश्वकै साहसिक काम गरेकामा सबैले गर्व अनुभव गरेको बताए।
प्रकाशित: ११ श्रावण २०८२ १९:१३ आइतबार





