देशका विभिन्न निर्वाचन क्षेत्रमा नयाँ राजनीतिक शक्तिको उदय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को व्यापक चर्चा भइरहँदा कर्णालीका हिमाली जिल्लाको निर्वाचन परिणामले भने फरक देखिएको छ। जुम्ला, कालीकोट, हुम्ला, डोल्पा र मुगुमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा न्यून मत प्राप्त गरेका कारण दर्जनौँ उम्मेदवारको जमानत जफत भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। यही व्यवस्थाअनुसार पाँच हिमाली जिल्लामा ठूलो संख्यामा उम्मेदवारले आवश्यक मत कटाउन नसक्दा निर्वाचन कार्यालयमा बुझाएको धरौटी गुमाएका हुन्। यसले हिमाली कर्णालीमा दलहरूको वास्तविक संगठन, जनाधार र स्थानीय राजनीतिक सन्तुलनलाई स्पष्ट रूपमा देखाएको छ।
जुम्लामा प्रत्यक्षतर्फ ४० हजार ८ सय ७८ मत खसेको थियो। तीमध्ये ३९ हजार १ सय ७३ मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जमानत जोगाउन कम्तीमा ३ हजार ९ सय १७ मत आवश्यक पर्ने भएपनि रास्वपाकी उम्मेदवार विनिता कठायतले ४ सय २१ मत मात्रै प्राप्त गरिन्।
यसैगरी नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४ सय, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ सय १३, नेकपा (माओवादी) का बिर्खबहादुर शाहीले ७०, नेपाल जनता पार्टीका रनिल विक्रम शाहीले ४३ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १४ मत मात्रै प्राप्त गरेपछि उनीहरूको जमानत जफत भएको छ। निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही १४ हजार ८ सय १६ मतसहित विजयी भएका छन्। उनले नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन्।
कालीकोटमा १० उम्मेदवार चुनावी मैदानमा रहेकामा ६ जनाले आवश्यक मत कटाउन सकेनन्। रास्वपाका प्रकाश न्यौपानेले २ हजार ९ सय ३७ मत प्राप्त गरे पनि १० प्रतिशतको सीमा पार गर्न नसक्दा जमानत जफत भएको हो। नेमकिपाका नन्दबहादुर शाही (५ सय ९७), राप्रपाका सूर्यबहादुर शाही (५ सय ६६) र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरी (२ सय ६९) ले पनि जमानत जोगाउन सकेनन्।
दुई स्वतन्त्र उम्मेदवार मानबहादुर तिरुवा र अस्मिन विष्टको पनि जमानत जफत भएको सहायक निर्वाचन अधिकृत सुनिल खाणले जानकारी दिए। नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही ११ हजार ३ सय ३८ मतसहित निर्वाचित भएका छन्।
हुम्लामा सात उम्मेदवार प्रतिस्पर्धामा रहेकामा चार जनाको जमानत जफत भएको छ। रास्वपाकी टासी ल्हाजोमले १ हजार ६४ मत मात्रै प्राप्त गरिन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्की (२ सय ४८), नेकपा माओवादीका कुम्भ बुढा (१ सय २८) र राप्रपाका छक्क बुढा (१ सय २४) ले पनि आवश्यक मत कटाउन सकेनन्।
डोल्पामा अवस्था अझ कमजोर देखिएको छ। यहाँ छ जना उम्मेदवारले १० प्रतिशत मत कटाउन नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रास्वपाका देव सिंह ऐडीले १ सय ८१ मत मात्रै प्राप्त गरेका छन् भने अन्य दलका उम्मेदवारले पनि अत्यन्त न्यून मत पाएका छन्।
मुगुमा सात राजनीतिक दल प्रतिस्पर्धामा रहेकामा चार दलका उम्मेदवारले आवश्यक मत कटाउन सकेनन्। रास्वपाका भुवन टमटाले ५ सय ३० मत मात्रै प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ। राप्रपाका बलबहादुर मल्ल (२ सय ३), नेकपा माओवादी (विप्लव) का रंगबीर परियार (२ सय ८०) र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्ल (२२) ले पनि न्यून मत पाएपछि जमानत गुमाएका छन्। नेपाली कांग्रेसका खड्कबहादुर शाही ७ हजार ९ सय १४ मतसहित निर्वाचित भएका छन्।
कर्णाली प्रदेशभर प्रतिस्पर्धामा आएका १ सय ३८ उम्मेदवारमध्ये ३६ जनाले १ सय मतसमेत ल्याउन सकेका छैनन्। जाजरकोटमा ११ उम्मेदवारमध्ये पाँच जनाले १ सय मत कटाउन सकेनन्।
उज्यालो नेपालका कर्णबहादुर नेपालीले ६७, राष्ट्रिय जनमोर्चाका रत्न खड्काले ५५, प्रलोपाका मेघबहादुर ओलीले ३८, नेमकिपाका धनीराम जैसीले २५ र मंगोल नेशनल अर्गनाइजेशनका कमान बुढाले ९ मत मात्रै प्राप्त गरेका छन्।
सल्यानमा १४ उम्मेदवारमध्ये चार जनाले १ सय मत कटाउन सकेनन्। दैलेख–१ मा जनमोर्चाका नरबहादुर सिंहले ९१, लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीकी मेना श्रेष्ठले १६ मत प्राप्त गरेका छन्। दैलेख–२ मा पनि तीन जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन्। सुर्खेत–१ मा दुई र सुर्खेत–२ मा सात जना उम्मेदवारले १ सय मत कटाउन सकेनन्।
रुकुम पश्चिममा पनि चार जना उम्मेदवारले १ सय मतभन्दा कम प्राप्त गरेका छन्। जमानत जफत हुनेमध्ये एमालेका नन्दराम देवकोटा (१ हजार ८ सय ६९), रास्वपाका मानबहादुर शाही (४ हजार ७६), राप्रपाका गोपाल खड्का (२ सय २८), नेकपा माओवादीका चन्द्रबहादुर बुढा (३ सय ३६), राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ (१ सय ७०), उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी (८४), नेकपा संयुक्तका शेरबहादुर केसी (५४), आम जनता पार्टीकी प्रेमा दमाई नेपाली (४५) र नेमकिपाका धनबहादुर विक (१५) रहेका छन्।
यस निर्वाचन क्षेत्रमा भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का गोपाल शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनलाई नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मतका साथ पछ्याएका थिए भने प्रलोपाका जनार्दन शर्माले १४ हजार ३ सय ४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।
प्रकाशित: २६ फाल्गुन २०८२ १८:१७ मंगलबार





