२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

चोटका कारण सिनसिनाटी ओपनबाट पनि बाहिरिए अल्काराज

स्पेनिस टेनिस स्टार कार्लोस अल्काराज कलाईको चोटबाट पूर्ण रूपमा निको हुन नसकेपछि सिनसिनाटी ओपनबाट बाहिरिएका छन्।

विश्व वरीयतामा दोस्रो स्थानमा रहेका २३ वर्षीय अल्काराजले गत अप्रिलमा बार्सिलोना ओपनबाट नाम फिर्ता लिएयता कुनै प्रतियोगिता खेलेका छैनन्। चोटकै कारण उनले विम्बल्डन गुमाउनुका साथै फ्रेन्च ओपनको उपाधि रक्षा गर्ने अवसरसमेत गुमाएका थिए।

गत वर्ष सिनसिनाटी ओपनको उपाधि जितेका अल्काराज यसपटक यही प्रतियोगिताबाट कोर्टमा फर्किने तयारीमा थिए। अगस्ट ११ देखि सुरु हुने सिनसिनाटी ओपनलाई उनले अगस्ट ३० देखि सुरु हुने अमेरिकी खुला प्रतियोगिताको तयारीका रूपमा प्रयोग गर्ने योजना बनाएका थिए।

तर कलाईको चोट अझै कायम रहेपछि उनले प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन्। सिनसिनाटी ओपनका प्रतियोगिता निर्देशक बब मोरानले अल्काराज जतिसक्दो चाँडो कोर्टमा फर्किन प्रयासरत रहेको बताएका छन्। उनले अल्काराजको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भविष्यमा उनलाई सिनसिनाटीमा पुनः स्वागत गर्न आफूहरू उत्साहित रहेको बताए।

अब अल्काराजको नजर अमेरिकी खुला प्रतियोगितामा हुनेछ। तर लामो समय कोर्टबाहिर रहेका कारण उनी पूर्ण रूपमा फिट भएर प्रतियोगितामा फर्किन्छन् कि फर्किँदैनन् भन्ने चासो बढेको छ।

प्रकाशित: २० श्रावण २०८३ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App