२० श्रावण २०८३ बुधबार
image/svg+xml
विचार

रेबिजविरुद्ध सचेतना र रोकथाम

देशभर सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध रेबिजविरुद्धको खोपको चरम अभावका कारण निजीमा महँगोमा खोप किन्न तथा लगाउन बाध्य भएका बेला टेकु अस्पतालमा चन्द्रागिरि नगरपालिकाका एक ४८ वर्षीय पुरुषको असार पहिलो साता मृत्यु भयो। जेनजी आन्दोलनपश्चात् दुई पटक टेन्डर खारेज भएपछि खोपको उपलब्धतामा कमी आयो। सरकारले खोपभन्दा रोकथामका नाममा कुकुरको टोकाइबाट जोगिन, भुस्याहा कुकुर नष्ट गर्ने लगायतका सूचना सम्प्रेषण गरिरहेको छ।

संघीय सरकार तथा इडिसिडीले नदिएपछि टेकु अस्पतालले स्थानीय तहसँग हारगुहार गर्‍यो। त्यसपछि केही हजार मात्रा काठमाडौं महानगरपालिकाले दिएको छ। दैनिक दुई सय रेबिजविरुद्धको खोप लगाउन आउने अस्पतालमा हाल रिफर भई देशभरबाट आठ सय जनासम्म आइरहेका छन्, जसले मौज्दात निकट भविष्यमै रित्तिने पक्का छ।

क्यान्सरका औषधि– कार्बोप्लाटिन, सिसप्लाटिन र रेबिजविरुद्धको खोपको देशभरका अस्पतालमा अभाव र हाहाकार भन्दै छापाहरूमा हेडलाइन बन्न थालेको पनि तीन महिनाभन्दा बढी भइसकेको छ। केही सीमित अस्पताल र आयातकर्ताहरूसँग मात्र रहँदा निःशुल्क खोप पनि ज्यादै महँगो, खोपका लागि काठमाडौं रिफर लिएर आउनुपर्ने तथा भारतमा गएर औषधि लिन परेको गुनासो गर्ने सेवाग्राहीहरू यत्रतत्र बग्रेल्ती भेटिन्छन्।

महिनौं हुँदासम्म पनि उपलब्धताभन्दा ५० हजार मौज्दात रहेको, वितरण व्यवस्थापनमा समस्या भएको, पटक–पटक टेन्डर आह्वान गर्दा लागत अनुमान सस्तो भएकाले आवेदन नै नपरेको र स्वचालित मूल्य समायोजन प्रणालीलगायतका शब्दमा सरकार अलमलिएको देखिन्छ।

भयानकता

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक ९ मिनेटमा एक जना अर्थात् वार्षिक ५९ हजारभन्दा बढी रेबिजका कारण मृत्यु हुन्छ, जसमा अधिकांश बालबालिका र विपन्न वर्ग पर्छन्। नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जाहेर गरे पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकले घटना र मृत्यु बर्सेनि बढेको देखाउँछ।

सबैभन्दा बढी शंकास्पद रेबिजका बिरामी आउने टेकु अस्पतालमा मात्र आव २०८०/८१ मा ६३ हजार ८१५ जनालाई एक लाख ४२ हजार १४९ मात्रा खोप लगाइएको थियो भने आव २०८१/८२ मा ८० हजार ३७९ जनालाई एक लाख ६० हजार ४०८ मात्रा र आव २०८२/८३ मा जेठ मसान्तसम्म एक लाख ७७ हजार ७८७ मात्रा खर्च भइसकेको छ। हरेक वर्ष तीन लाखभन्दा बढी मात्रामा खोप खरिद गर्दै आएको र बढाउँदै गरेको भए पनि दशकदेखि अभावको समाचारमा कमी आएको छैन।

नेपालमा लाखौंलाई टोक्ने वा चिथोर्ने गरिए पनि सरकारी स्वास्थ्य संस्थामा खोप लगाउन ६० हजारभन्दा बढी व्यक्ति आउने र एक सय जतिको मृत्यु हुने गर्छ, जसमा सबै निजी अस्पताल, स्वास्थ्य संस्था र सीमापारि गई खोप लगाउने तथा सम्पर्कमा नआएकाहरूको आँकडा संलग्न छैन।

बौलाहा अर्थात् रेबिज रोग

हाम्रो समुदायमा कुकुरले टोक्ने, बिरालो, बाँदरले चिथोर्ने घटना नौला होइनन्। तथापि, कहीं एन्टिरेबिज भ्याक्सिन छैन, कतै बिरामी घरबाट, समाजबाट निष्कासित, कुनै सहरमा भुस्याहा कुकुर मार्ने होडबाजी, कतै रेबिज लागेका पशुमाथि गोली हान्ने हिम्मतजस्ता समाचार बारम्बार छापाहरूमा आइरहेका छन्।

रेबिज धेरै पहिलेदेखि चिनिएको पुराना रोगहरूमध्येको खतरनाक, डरलाग्दो, पशुबाट मानिसमा सर्ने रोग हो। विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार विश्वभर प्रतिवर्ष २० लाखभन्दा बढी मानिसले रेबिजविरुद्धको खोप लगाउँछन् र बढीमा ६० हजार मानिसको मृत्यु रेबिज रोग लागेर हुन्छ।

रेबिज रोग एक प्राणघातक सरुवा रोग तथा विश्वकै एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा आज पनि छ। नेपालमा बर्सेनि करिब ६० हजारभन्दा बढीले खोप लगाउने गर्छन्। औसत १२ देखि १४ जनाको मृत्यु भएको आधिकारिक तथ्यांक छ।

विगतको सर्वेक्षण हेर्दा नेपालमा ९४ प्रतिशत बहुला कुकुरको टोकाइ, ४ प्रतिशत जंगली जनावरहरू स्याल, फ्याउरो, ब्वाँसो आदि र २ प्रतिशत पाल्तु जनावरको टोकाइबाट बचावट गर्न रेबिजविरुद्धको खोप लिएको देखिन्छ। त्यसैगरी रेबिज रोगबाट भएको मृत्युमा ९६ प्रतिशत बहुला कुकुरको टोकाइबाट नै भएको पाइन्छ।

रोग सर्ने तरिका

रेबिज तातो रगत भएको जुनसुकै प्राणीलाई लाग्न सक्ने रोग हो र मासु खाने जीवजन्तु, विशेष गरी कुकुर, स्याल, फ्याउरो, बिरालो, ब्वाँसोको टोकाइबाट सर्छ। यस रोगको मुख्य स्रोत जंगली जनावरहरू हुन्। जंगली जनावरद्वारा घरपालुवा जनावरमा र त्यसपछि मानिसमा रेबिज सर्ने गर्छ।

रेबिज रोग लागेको वा बहुलाएको जनावरले टोकेमा वा उसको ¥याल हाम्रो घाउ, चोटपटक लागेको ठाउँमा पर्न गएमा प्रत्यक्ष रूपमा र रेबिज रोगीको आँखादान स्वस्थ व्यक्तिमा हाल्दा पनि अप्रत्यक्ष रूपमा सर्न सक्छ। तसर्थ जनावरको टोकाइ, चाटाइ, श्वासप्रश्वास र व्यक्ति–व्यक्तिको सम्पर्कबाट यो रोग सरेको पाइँदैन।

लक्षणहरू

बुलेट आकारको लिसा भाइरस मानिसको शरीरमा पसेदेखि रोगका लक्षणहरू देखिन्छन्। टोकेको स्थान, त्यस ठाउँबाट मस्तिष्कको दुरी, स्नायुसँगको सम्बन्ध, टोकाइको प्रकार, जीवाणुको उग्रता र मात्रा, घाउको संख्या, टोक्ने जनावर तथा मानिसको रोगप्रतिरोध शक्ति इत्यादिमा भर पर्छ। साधारणतया तीनदेखि आठ हप्तासम्म लक्षणहरू देखिन समय लाग्छ। केहीमा ६ दिनमै त केहीमा ६ वर्षसम्म ओथारो समय देखिएको छ। नेपालमा भने १२ दिनदेखि दुई वर्षसम्म ओथारो समय रहेको तथ्यांक छ।

रोगको लक्षण देखिनुअघि देखिने लक्षणहरूमा टाउको दुख्नु, निद्रा नलाग्नु, ज्वरो आउनु, थकाइ लाग्नु, भोक नलाग्नु, शरीरका मांसपेशी र घाँटी दुख्नु हुन्। त्यस्तै अन्य लक्षणमा छिनछिनमा थुक्न मन लाग्नु, टोकेको घाउ वरिपरि सियोले रोपेजस्तो अनुभव हुनु, दुख्ने र झमझमाउने आदि पर्छन्।

उपरोक्त लक्षण देखिएको २४ घण्टामा रोगका लक्षणहरू छालामा छोएको थाहा नहुने, मांसपेशीको कार्यमा अवरोध हुने, श्वासप्रश्वास क्रिया अनियमित र अस्वाभाविक हुने तथा अन्त्यमा दिमागका काम बिस्तारै कम हुँदै जान्छन्। रोगले ग्रसित पार्दै लैजाँदा तरल पदार्थ पनि पिउन नसक्ने, आवाज सुन्दा अत्तालिने, उज्यालोमा हेर्न नसक्ने, आँखामा डेढोपना हुने, एउटै वस्तु दुईवटा देख्ने, हल्ला मन नपर्ने, जाडो सहन नसकी शिरशिर हावामा पनि झर्को र डर मान्ने तथा पानीदेखि डराउने हुन्छ। कहिलेकाहीं रोगी बढी उत्तेजित भएर वरपरका सामान फ्याँक्ने, टोक्ने र जता मन लाग्यो उतै लड्ने गर्छ।

आँखाबाट आँसु झरिरहने, धेरै पसिना आउने, र्‍याल धेरै झार्ने र मुखभित्र धेरै र बाक्लो र्‍याल जम्मा भई फिँज बाहिर निस्कन्छ। यति हुँदाहुँदै बिरामीलाई दिक्क लाग्छ, सोचग्रस्त हुन्छ र मर्छु कि भन्ने त्रास हुन्छ। झोल कुरा निल्न सक्दैन, पानीको आवाज सुन्नेबित्तिकै र कम्पनबाट डराउँछ। पानीसँग डराउने अवस्था भइसकेपछि कोही पक्षाघात भई त कोही त्यसै मर्छन्। मुख र आँखा बन्द गर्न नसक्ने, श्वासप्रश्वास अनियमित र अस्वाभाविक हुने गर्छ। अन्तमा, कडा स्नायु तरंग भएको बेला श्वासप्रश्वाससम्बन्धी मांसपेसी रोकिन गई बिरामीको मृत्यु हुन्छ। नेपालमा रेबिज रोगको लक्षण देखा परेको दुईदेखि आठ दिनसम्ममा रोगीको मृत्यु भएको पाइन्छ।

प्राथमिक उपचार

घरमा: साबुनपानीले १० मिनेटसम्म मज्जाले घाउ धुने, त्यसपछि स्पिरिट वा अल्कोहल वा टिन्चर आयोडिन लगाउने। टोकेको कुकुर पत्ता लगाउने, घरपालुवा कुकुर भए एन्टिरेबिज खोप दिए–नदिएको र कुकुरलाई १० दिनसम्म बाँधी रेबिज भए–नभएको पत्ता लगाउने गर्नुपर्छ।

अस्पतालमा: टोकेको घाउ राम्रोसँग प्रत्येक दिन सफा गर्ने र ठुलो भए खुकुलो टाँका लगाउने, अन्यथा टाँका नलगाउने, टिटानस टक्सोइडको सुई लगाउने, नदुख्ने र नपोल्ने सुई लगाउने तथा खोप डाक्टरको सल्लाहअनुसार लगाउनुपर्छ। कुकुर मर्‍यो भने उसको गिदी जाँच्न पठाउने, कुकुरलाई गाड्ने तथा बिरामीलाई सुई दिन सुरु गर्नुपर्छ।

रोकथाम

रेबिज सयमा सय प्रतिशत बचावट गर्न सकिने तर रोगको लक्षण देखिइसकेपछि सयमा सय प्रतिशत उपचार नहुने रोग भएकाले यो रोगप्रति समयमै सतर्कता अपनाई रोकथामका उपायहरू अपनाउनु नै मृत्युबाट जोगिनु हो। कुकुरलगायत सम्पूर्ण पाल्तु जनावरलाई खोप लगाउने, लाइसेन्स दिने, पञ्जीकरण गर्ने, भुस्याहा कुकुरहरूलाई नियन्त्रण गर्नुपर्छ। रोगका स्रोतहरू तथा वाहक जंगली जनावरहरूलाई निगरानी गर्ने, आयातित जनावरहरूलाई नियन्त्रण र क्वारेन्टाइन जाँच गर्ने तथा गाउँघरमा मरेका जनावरहरूलाई जथाभावी नफाली माटोमुनि गाड्नुपर्छ।

त्यसैगरी टोकेको घाउलाई विसंक्रामकयुक्त पानीले सफा गर्ने, साबुनपानीले सफा गरी अल्कोहल, टिन्चर आयोडिन वा स्पिरिट लगाउनुपर्छ। रोगप्रति जनचेतना अभिवृद्धि गर्ने काम हर समय गर्नुपर्छ। जोखिम समूहका जनावर र मानिसलाई रेबिजविरुद्धको खोप लगाउनुपर्छ।

कुकुर वा अन्य जीवजन्तुले टोक्नासाथ पानीको धारा खोलेर घाउमा साबुनपानीले कम्तीमा १५ देखि ३० मिनेटसम्म धोएर सफा गर्दा पनि करिब ९० प्रतिशत रेबिज सङ्क्रमणको जोखिम कम हुने गर्छ। त्यसलगत्तै ढिलोमा ७२ घण्टाभित्र अस्पताल पुगेर टिटी होइन, रेबिज खोप ०, ३ र ७ दिनमा ३ मात्रा लगाउने। घाउ गहिरो वा ठुलो वा धेरै ठाउँमा टोकेको भए इम्युनोग्लोबुलिन खोप लगाउनुपर्छ।

रेबिज लागिसकेपछि उपचार नभई मृत्यु अवश्यम्भावी भएकाले रोकथामका उपाय र टोकी हालेपछि प्राथमिक उपचार गर्न उत्प्रेरित गर्नुपर्छ। प्राथमिक उपचार मात्रै पनि सकेसम्म छिटो गर्न सकेमा रेबिज लागेको जनावरले टोक्दा पनि रोग सर्ने सम्भावनामा ९० प्रतिशतसम्म कमी आउँछ। रेबिजबाट बच्न सकिन्छ तर नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक कारणले रेबिज उन्मूलन भने लक्ष्यअनुसार सम्भव देखिँदैन।

प्रकाशित: २० श्रावण २०८३ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %