राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल पोस्टमा रिप्लाई गरेका छन्।
मोदीले सोमबार रास्वपाको चुनावी सफलता र आगामी सरकारका लागि फेसबुकमार्फत शुभकामना दिएपछि मंगलबार बालेनले त्यसको जवाफ फर्काएका हुन्।
बालेनले आफ्नो रिप्लाईमा भारतीय प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। उनले नेपाल र भारतबीच रहेको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा परिणाममुखी बनाउन सहकार्य गर्ने बताए।
उनले लखेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू। नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामीसँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।’
सोही कमेन्टमार्फत बालेनले भारतलाई खेलकुदको सफलतामा पनि बधाई दिएका छन्। लगातार दुई पटक विश्वकपको उपाधि जितेकोमा उनले भारत सरकार र भारतीय जनतालाई बधाई ज्ञापन गरेका हुन्।
उनले थपे, ‘साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।’
यसअघि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनसँग आफ्नो टेलिफोन वार्ता भएको जनाएका थिए।
मोदीले दुवै नेतालाई चुनावी जितको बधाई दिएका थिए। साथै, उनले नेपालको निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलताको प्रशंसा गरेका थिए।
नेपालमा बन्न लागेको आगामी नयाँ सरकारलाई शुभकामना दिएका मोदीले दुई देशको पारस्परिक समृद्धि र प्रगतिका लागि भारत सँगै मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका थिए।
प्रकाशित: २६ फाल्गुन २०८२ १८:३२ मंगलबार





