पोखराको पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माणका लागि दिइएको म्याद गुज्रिएको छ ।
पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ योजना अन्तर्गत सडकसँगै पुल निर्माणका लागि ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल भदौ २६ गते सम्झौता भए पनि पुल निर्माणको आधा काम बाँकी छँदै सम्झौताको म्याद भने गुज्रिएको हो ।
पुरानो पोखरा अर्थात कोर पोखरा शहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा हाल भएको पुलको माथि र तल पट्टी गरेर थप दुई वटा पुल निर्माण गर्ने पहिलो सम्झौताको म्याद गुज्रिएपछि सरकारले बाँकी काम सम्पन्न गर्न ८ महिना अर्थात २०८३ बैशाख २५ गते सम्मका लागि म्याद थपेको छ ।
गत भदौ २५ गते म्याद सकिएपछि थपिएको सो समयमा पनि पुल निर्माण सम्पन्न हुने सम्भावना भने न्यून देखिएको छ ।
हालसम्म पुल निर्माणको भौतिक प्रगति ५२.३५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत सकिएको छ । तर निर्माण कम्पनी एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले भने हालसम्म भौतिक प्रगति ६० प्रतिशत माथि भइसकेको दाबी गरेको छ । सेती खोंचमा संरचना निर्माणदेखि सुपर स्ट्रेचर निर्माणसम्मको कामको प्रगति नजोडिएकाले भौतिक प्रगती कम देखिएको कम्पनीले जनाएको छ ।
पुल निर्माणमा स्थानीयको अवरोध, बिजुलीको पोल नसारिएको तथा खानेपानीको पाईप लाईन पनि नसारिकन म्याद थपिएकाले दोस्रो पटक थपिएको म्याद भित्र काम सक्न मुस्किल हुने निर्माण कम्पनी एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कन्ट्रयाक्ट म्यानेजर सुदर्शन देवकोटाले बताए । पुल निर्माणमा बाधा अवरोध छ, उनले भने, ‘यो नहटाई थपिएको म्याद भित्र पुल निर्माणको काम सकिन्न ।’
थपिएको समयमा तल्लो पट्टीको पुल निर्माणको काम सकिए पनि माथिल्लो पट्टीको पुल निर्माणको काम सक्ने सम्भावना नरहेको उनको भनाई छ ।
पुल निर्माणका लागि आवश्यक सबै सामान ल्याउन चीनमा एलसी खोलेर सामानहरु अर्डर भएर आउने क्रममा रहेको उनले बताए । आफूहरु निर्माणका लागि तयारी अवस्थामा रहे पनि प्राविधिक समस्याका कारण काममा अवरोध आइरहेको उनको भनाइ छ ।
देवकोटाले माथिल्लो पट्टीको पुलको पूर्वी क्षेत्रमा ३ वटा घरले क्षेतीपूर्तिमा चित्त बुझाएका छैनन् । साथै घर प्रवेशका लागि बाटो माग गरेर निर्माणमा अवरोध गरिरहेको उनले बताए । पुलको उत्तरतर्फ पर्ने यी तीन घरहरुलाई २८ लाख, १८ लाख र १४ लाख क्षेतीपूर्ति पाउने निर्णय भइसकेको छ ।
तर मुआब्जामा उनीहरुले चित्त बुझाएका छैनन् । त्यतिमात्र होईन, पुल निर्माण गर्दा घरको भित्तासम्मै मापदण्ड लाग्ने भएपछि स्थानीयले दुई मिटर नियमित बाटो (रेगुलर एक्सेस) मागेर निर्माणमा अवरोध पुर्याएको उनको भनाइ छ ।
प्रकाशित: २३ कार्तिक २०८२ १७:४८ आइतबार





