रसुवागढीस्थित नेपाल-चीन सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाउनुका साथै ठुलो भौतिक क्षति गरेको छ। बाढीमा २० जना हराएका छन्। यसबाट दुई देशबिच विपत्जन्य सूचना आदानप्रदान नभएको देखिएको छ। बाढीका विषयमा पूर्वसूचना भएको भए यो स्तरको क्षति नहुने विज्ञ तथा सम्बद्ध सरकारी अधिकारीले बताएका छन्।
सीमापार सूचना आदानप्रदानका लागि दुई देशबिच प्रत्यक्ष सञ्चार सम्बन्ध र प्रणाली विकास गर्न सकेमा धनजनको क्षति न्यून गर्न सकिने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले बताए। ‘फाट्टफुट्ट हिसाबमा चीनका स्थानीय अधिकारीले यसअघि पनि सूचना दिने गरेको देखिन्छ तर दुई देशबिच यस प्रकारको आधिकारिक तथ्यांक तत्काल साझेदारी गर्ने निकाय छैनन्,’ जोशीले भने।
कतिपय अवस्थामा बढी आउँदै छ भन्ने सूचना पनि सही नभएको पाइएको उनी बताउँछन्।
रसुवागढीमा बाढीले गरेको क्षतिले यो आवश्यकता झन् टड्कारो बनेको चर्चा गर्दै जोशीले भने, ‘यो विषयमा तल्ला तह र विभाग मात्र नभई त्योभन्दा माथि सरकारी स्तरमै समझदारी हुनुपर्ने देखिएको छ र सीमापार पूर्वचेतावनी प्रणाली स्थापना गर्न आवश्यक छ।’
नेपाल र चीनको भूभागमा मंगलबार बिहान भारी वर्षा नभए पनि त्यो क्षेत्रमा किन आकस्मिक बाढी आयो भन्ने अध्ययनको विषय रहेको र त्यसका लागि तथ्यांक साझेदारी आवश्यक रहेको विपत् जोखिम न्यूनीकरणविज्ञ वसन्तराज अधिकारी बताउँछन्।
रसुवागढीस्थित भोटेकोसीमा आएको बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान जारी गरेको प्रारम्भिक अध्ययनमा ‘बाढी वर्षाका कारण उत्पन्न भएको देखिँदैन’ भनिएको छ।
विभागले ‘भोटेकोसी नदी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलन गर्न सेन्टिनेल एसिया प्लेटफर्मलाई तत्काल भूउपग्रह तस्बिर उपलब्ध गराउन अनुरोध गरिएको’ जनाएको छ।
प्रकाशित: २५ असार २०८२ ११:२१ बुधबार





-600x400.jpg)