लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन्।
बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए।
उनले भने, 'मृतक धनबहादुरको छोरा दीपक सिलवालले शवको पहिचान गरेका छन्।' मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन परेको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ।
उनका अनुसार सो दिन घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको थियो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
धनबहादुरको शव परीक्षणका लागि प्रदेश अस्पताल बेसीसहरमा राखिएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २ चैत्र २०८२ ११:३३ सोमबार



-600x400.jpg)

