२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

आम्दानीको स्रोत बन्दै भुईँकटर

नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले भुईँकटरको लस्कर देखिन्छ । सडक छेउछाउका भित्तामा लस्करै झुण्डाइएका भुईँकटरले बाटो हिँड्ने जो कोहीलाई आकर्षित गर्ने गरेका छन्।

साउन–भदौ महिनामा पाक्ने भुईँकटर यहाँका मानिसको स्वाद मात्र होइन, आम्दानीको मुख्य स्रोत बनेको छ । इच्छाकामना गाउँपालिकाका चेपाङ तथा गुरुङ समुदायका धेरै परिवार अहिले भुईकटर खेती गरेर सडक पेटीमै बिक्री गर्छन् । यसरी राजमार्गमा झुण्ड्याइएका भुईँकटरहरूले उनीहरूलाई वैकल्पिक रोजगारीको बाटो खोलिदिएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित कोयलघारीकी गोरीमायाँ गुरुङले खेती नै भुईँकटर लगाएकी छिन् । घर वरिपरिको सबै जमिनमा भुइँकटर लगाएकी गुरुङ बिहानै टिपेर नारायणगढ–मुग्लिन सडक खण्डामा झर्छिन् र यात्रुहरूलाई आफैँ बेच्छिन् ।

‘दैनिक ८ हजार रुपैयाँसम्म सजिलै कमिन्छ,’ गोरीमायाँ मुस्कुराउँदै भन्छिन्, ‘यसैको भरमा घर खर्च चल्छ।’ भुईँकटर खेतीसँगै उनले बाख्रा पनि पालेकी छन्, जसले थप आम्दानी दिन्छ ।

उनीहरुले साउन र भदौ महिनामा भुईँकटर बिक्री गर्ने गर्दछन् । उही गाउँकी सोनी चेपाङलाई पनि सडक पेटीमै भेट्न सकिन्छ । हालै मात्र एसइई दिएकी उनी बिहानै आफ्नै घरमा फलेको भुईँकटर टिपेर राजमार्गमा ल्याउँछिन्। ‘गाउँतिरबाट ल्याउँछौँ। आफैले उत्पादन गरेको अरुलाई खुवाउन पाउँदा खुसी लाग्छ । बाटो हिँड्ने जो कोही पनि सवारी साधन रोकेर खान आउनुहुन्छ’–उनी भन्छिन्। उनको दैनिक आम्दानी पाँचदेखि आठ हजार रुपैयाँसम्म आम्दानी गर्ने बताउँछिन् ।  

भुईँकटरले अहिले चितवन र तनहुँका किसानलाई समेत आकर्षित गरेको छ । उनीहरू उत्पादन गरेर आफैँ सडक पेटीमै बिक्री गर्छन् । मुग्लिनका विधुर गुरुङ सिजनको समयमा सामान्य व्यक्तिले पनि एकदेखि दुई लाखसम्म आम्दानी गर्ने बताउँछन् । यो वर्षभरी बेच्न पाइँदैन । डेढ महिना जति बेच्दा आम्दानी राम्रै हुन्छ’, नारायणगढ–मुग्लिन राजमार्गमा भुइँकटर बेचिरहेका विधुरले भने ‘छोटो समयको आम्दानी राम्रै छ ।’

चर्को घाममा थाकेर आएका यात्रुहरूले सवारी साधन रोकेर किन्ने गर्दछन् । यस सडक खण्डमा विषादी रहित भुइँकटर पाइने भएकाले धेरै मानिसले आफ्नो सवारी साधन रोक्ने गरेको भरतपुरका हरि फुयाँल बताउँछन् । यहाँ अर्ग्यानिक पाइन्छ । खाँदा पनि रसिलो छ,’ मुग्लिनबाट भरतपुर तर्फ आइरहेको अवस्थामा भुइँकटर किनिरहेका फुयाँलले भने ‘घरका परिवारले पनि धेरै मन पार्दछन् ।’

इच्छाकामना गाउँपालिकाले कति मात्रामा खेती भइरहेको छ । इच्छाकामना गाउँपालिकाका अनुसार २५ हेक्टर क्षेत्रफलमा भुँईकटर खेती हुँदै आएको छ। कृषि अधिकृत समीक्षा पौडेलका अनुसार पछिल्लो समय गाउँपालिका भित्रका पाखा–पखेरामा भुईँकटर खेती गर्ने प्रचलन तीव्र गतिमा बढेको छ । विशेष गरी इच्छाकामना वडा नम्बर–६को कोयलघारी, पाँचकिलो, चारघारी लगायतका स्थानमा खेती भइरहेको छ ।  

गरिबीको रेखामुनि रहेका चेपाङ समुदायलाई पनि भुईँकटर जीवनयापन सहज बनाउने आधार बनेको उनले बताइन् । एक सयदेखि डेढ सय रुपैयाँसम्ममा बिक्री हुने यो मौसमी फलले दैनिक पाँचदेखि आठ हजार रुपैयाँसम्म आम्दानी दिलाउँछ । यसले चेपाङ र गुरुङ समुदायलाई मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई समेत गतिशील बनाइदिएको उनको भनाई छ ।  

प्रकाशित: ५ भाद्र २०८२ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App