हिजो (शुक्रबार) साँझ काठमाडौं फर्कन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ४० मिनेट 'डिटेन' गरी छाडिएको छ।
दिल्लीस्थित नेपाली दूतावासको अनुरोधमा प्रसाईंलाई हवाई अड्डामा केही बेर डिटेन गरिएको स्रोतले जनाएको छ।
दूतावासले उनलाई नेपाल एयरलाइन्सबाट काठमाडौं यात्रा गर्न नदिने भन्दै लिखित अनुरोधपछि सुरक्षाकर्मीले रोकेको थियो। पछि दुर्गा प्रसाईं र नेपाली राजदूतबीच फोनमा कुरा भएपछि उनलाई काठमाडौं उडानको अनुमति दिइएको थियो।
प्रसाईंले त्यसपछि नेपाल एयरलाइन्सको विमान आरए २१८ बाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
प्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको थियो। उनी भारत आएको जानकारी पाएपछि थप निगरानी बढाइएको थियो।
भारतीय अधिकारीहरूले प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएको भारतीय सञ्चारमाध्यमले जनाइसकेको छ।
प्रकाशित: २२ कार्तिक २०८२ ११:११ शनिबार





