२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी

मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो।  

चुमनुब्री गाउँपालिका–३ स्थित नाक्चेत, घट्टेखोलालगायत क्षेत्रमा वन डढेलो बढेपछि ड्रोनमार्फत निगरानी सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका फिल्ड अफिसर भुवन ओझाले जानकारी दिए। डढेलोले संरक्षण क्षेत्रभित्रका वन्यजन्तु, जैविक विविधता, मानव स्वास्थ्य तथा वातावरणमै गम्भीर असर पु-याउने भएकाले नियन्त्रण गर्न जरुरी रहेको उनले बताए।

'केही समयदेखि सिर्दिबासलगायत आसपासको क्षेत्रमा दैनिकजसो आगलागीका घटना बढिरहेका छन्। त्यसैले हामीले ड्रोनको प्रयोग गरी निगरानी सुरु गरेका हौँ,' उनले भने, 'यहाँ एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न तीनचार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। ड्रोनको प्रयोग गरेपछि एकठाउँमा बसेर आगलागी भएको क्षेत्र हेर्न मिल्ने भयो, त्यहाँको अवस्था बुझ्न पनि सजिलो भयो।'  

डढेलो लगाउने व्यक्ति पहिचान गर्ने तथा वन क्षेत्रमा आगो लगाउने क्रम नियन्त्रणमा ल्याउने उद्देश्यसहित ड्रोनमार्फत निग्रानी सुरु गरेको ओझाले बताए। कार्यालयले ड्रोनको प्रयोग सुरु गरेपछि स्थानीयहरूसमेत सचेत भएका र आगलागी न्यूनीकरण भएको उनको भनाइ छ।  

ड्रोनको सहायताले हालसम्म दुईवटा आगलागीको घटना नियन्त्रण गरिसकेको एमक्यापका फिल्ड अफिसर ओझाले जानकारी दिए।

प्रकाशित: १ माघ २०८२ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App