२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सिरहामा लागुऔषध कारोबारी र प्रहरीबिच झडप, भारतीय कारोबारी गोली लागेको अवस्थामा पक्राउ

सिरहामा लागुऔषध कारोबारी र प्रहरीबिच दोहोरो झडप भएको छ। प्रहरी र लागुऔषध कारोबारीबिच भएको दोहोरो झडपमा प्रहरीको गोली लागेर एक भारतीय कारोबारी घाइते भएका छन्।

नवराजपुर गाउँपालिका वडा नम्बर ५ स्थित सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको टोलिमाथी लागुऔषध कारोबारी समूहले गोली चलाएको थियो।  

३-४ जनाको संख्यामा हातहतियारसहित नाका मै बसेका लागुऔषध कारोबारी समूहले चलाएको गोली कसैलाई नलागेपछि प्रहरीले जवाफी कार्यबाहीमा दुई राउन्ड गोली चलाएको थियो।  

प्रहरीले चलाएको गोली भारतको मधुवनीका अब्दुल कलामको खुट्टामा लागेर ढलेको अवस्थामा नियन्त्रणमा लिएको मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी ओम अधिकारीले बताए।

प्रहरीका अनुसार कार्यबाहीमा गोली लागेर घाइते भएका अब्दुल नै लागुऔषधका मुख्य कारोबारी हुन्। अब्दुल समूहले भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा ब्राउन सुगर तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनास्थलबाट सिरहा प्रहरीले १ सय २२ ग्राम ब्राउन सुगर, एक थान कटुवा पेस्तोल बरामद गरेको छ। घटनामा संलग्न व्यक्तिहरू सीमावर्ती भारततर्फ भागेका छन्।

घाइते अब्दुलको प्रहरी घेराभित्र प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको बुझिएको छ।

प्रकाशित: २० असार २०८३ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App