९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

देशभर आन्तरिक पर्यटकको चहलपहल

फाइल तस्बिर

देशभरका प्रमुख गन्तव्य स्थलहरूमा आन्तरिक पर्यटकको चहल–पहल बढेको छ। दसैं–तिहारको लामो बिदासँगै प्रमुख गतव्य स्थलमा पर्यटकको चहलपहल बढेको हो। पर्यटकहरू सौराहा, फेवाताल, अपिहिमाल बेसक्याम्प र मुक्तिनाथलगायतका स्थलमा पुग्ने गरेका छन्।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले चाडपर्वका बेला लामो बिदा  र विदेश गएकाहरू यसबेला घर फर्किए सँगै पारिवारिक घुमघामले गर्दा पनि पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको बताए। उनले भने, ‘टीकालगत्तै आइतबारसम्म ९० प्रतिशत होटल आन्तरिक पर्यटकले नै भरिभराउ थिए। त्यसमा पनि ५० प्रतिशत आन्तरिक ४० प्रतिशत विदेशी र १० प्रतिशत भारतीय पर्यटककै आएका थिए।’

कोरोनापछि पोखरामा आन्तरिक पर्यटनको आगमन सबैभन्दा बढी बढेको उनले बताए। उनका अनुसार पोखरामा विगतका वर्षहरूमा चाडपर्वका बेला सडक स्तरोन्नति गर्ने क्रममा धुलाम्मे र हिलाम्मे हुने गरेका कारणले गर्दा पर्यटकको संख्यामा कमी आए पनि यस वर्ष आन्तरिक पर्यटकको आकर्षण बढेको छ। जेनजी आन्दोलनलगायत मौसमका कारणले गर्दा पनि पर्यटकको आर्कषण अपेक्षा गरेअनुरूप बढ्न नसकेको उनको भनाइ छ।

क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष सुमन घिमिरेले विगतका वर्षहरूमा दसैं लगत्तै आन्तरिक पर्यटकको चहलपहल बढ्ने भए पनि यस वर्ष बाढी पहिरोका कारण ढिलो गरी मात्रै तिहारपछिसौराहमा आन्तरिक पर्यटकको आगमन बढेको बताए।

देशमा एक पछि अर्को गर्दै भइरहेका अनपेक्षित राजनीतिक र मौसमजन्य घटनाक्रमले गर्दा पनि आन्तरिक पर्यटकको आकर्षण बढ्न नसकिरहेको उनले बताए। आगमन सहजता र देशको परिस्थिति सामान्य भए आन्तरिक पर्यटकको आकर्षण अझै बढ्ने उनको भनाइ छ।

होटल व्यवसाय संघ कैलालीका अध्यक्ष केशव पाण्डेका अनुसार विगतका वर्षहरूभन्दा यस वर्ष आन्तरिक पर्यटकको चहलपहल बढेको छ। उनले पर्यटकीय स्थलहरू मध्ये सबैभन्दा बढी अपिहिमाल बेसक्याम्प जाने आन्तरिक पर्यटक बढेको बताए। बेसक्याम्पसम्म पुग्नका लागि सडक सञ्जाल निर्माणसँगै खानबस्नका लागि उचित व्यवस्था भएकाले पनि अहिले बेसक्याम्पमा पर्यटकको आकर्षण अत्यधिक बढेको उनको भनाइ छ। अन्य पर्यटकीय स्थलहरूमा पनि केही आन्तरिक पर्यटकको चहलपहल बढिरहेको उनले बताए।

होटल व्यवसाय महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले दसैंलगत्तै बाढी पहिरोका कारण कतिपय ठाउँहरूमा आन्तरिक पर्यटकहरू पुग्न नसकेको बताए। अहिले तिहारको लामो बिदाले गर्दा पर्यटक घुम्नका लागि देशका विभिन्न ठाउँमा पुगेको उनले बताए। उनका अनुसार अहिले हिमाल र पहाडी क्षेत्रतिर मात्रै नभइ पूर्वदेखि पश्चिमसम्मै आन्तरिक पर्यटकको आकर्षण बढेको छ।

पछिल्लो समय पारिवारिक घुमघामले गर्दा पनि होटल, रेष्टुरेन्टहरूमा भिडभाड बढेको बताउँदै उनले देशमा विभिन्न घटनाक्रमका कारणले गर्दा पनि गतवर्षको तुलनामा यसवर्ष दोब्बरले पर्यटकको आर्कषण बढेको बताए। चीनसँगको कोराला नाका खुलेसँगै मुक्तिनाथ क्षेत्र जाने आन्तरिक पर्यटनको संख्यासमेत बढेको उनको भनाइ छ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गरिरहेको बताए। स्थानीयतहसँगको समन्वयमा मेला र उत्सवहरू पनि गर्ने गरेको उनले बताए। सडकसञ्जाल पुगेका ठाउँहरूमा अझै धेरै आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको उनको भनाइ छ। अहिले कतिपय मानिस नयाँ–नयाँ गतव्यस्थलको खोजीमा जाने भएकाले पनि आन्तरिक पर्यटकको चहलपहल बढी रहेको उनले बताए। 

प्रकाशित: ११ कार्तिक २०८२ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App