२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

चितवनमा बाँड्न थालियो अनुदानको मल

मल लिन लाइन बसेका किसान ।

चितवनमा अनुदानको रासायनिक मल वितरण गर्न सुरु गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले स्थानीय तह मार्फत एकसाथ रासायनिक मल वितरण गर्न सुरु गरेका हुन् ।  

किसानको माग बमोजिम एक साताअघिदेखि जिल्लामा मल वितरण गर्न थालिएको कृषि सामग्री लिमिटेड भरतपुरका प्रमुख राजन बगालेले जानकारी दिए । ‘यतिखेर धान बालीलाई लक्षित गर्दै अनुदानको युरिया र डीएपी मल वितरण गरिएको छ,’ उनले भने ‘जिल्लालाई पुग्छ कि भन्ने अनुमान गरेका छौँ ।’

आवश्यकता हेरेर पालिकाहरुलाई मल वितरण गरिएको उनले बताए । बगालेका अनुसार, जिल्लामा ८ सय ७९ मेट्रिक टन युरिया र १ हजार ३ सय ७० मेट्रिक टन डीएपी मल वितरण हुँदैछ ।  

‘हामीकहाँ ४ सय ५१ मेट्रिक टन युरिया र ६ सय ५० टन डीएपी आएको थियो । त्यस्तै साल्ट ट्रेडिङमा ४ सय २८ युरिया र ७ सय १० मेट्रिक टन डीएपी मल आएको थियो । त्यो हामीले जिल्लाका सात पालिकालाई उपलब्ध गराएका छौँ’, बगालेले भने ।

मल लिन लाइन बसेका किसान ।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा अनुदानको मल वितरण हुँदै आएको छ । यसपटक भरतपुरमा २ सय २६ मेटिकटन युरिया र डीएपी ३ सय १५ मेट्रिक टन वितरण हुँदैछ ।  

त्यसपछि माडी नगरपालिकामा यूरिया १ सय ६३, डीएपी २ सय ४०, कालिका नगरपालिकामा युरिया १ सय २०, डीएपी २ सय, खैरहनी नगरपालिकामा युरिया १ सय १५, डीएपी १ सय ९०, रत्ननगर नगरपालिकामा युरिया १ सय १०, डीएपी १ सय ९०, राप्ती नगरपालिकामा  युरिया १ सय, डीएपी १ सय ६५ मेट्रिक टन वितरण हुन लागेको छ ।  

सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा युरिया ३० र डीएपी ५० मेट्रिक टन वितरण हुने बगालेले जानकारी दिए ।  

सरकारी स्वामित्वमा रहेका यी दुई कम्पनीले स्थानीय पालिकालाई मल वितरण गर्न दिने गर्दछन् । अनि स्थानीय पालिकाले कृषि सहकारी, समूह, साना किसान, व्यावसायिक फर्म तथा विभिन्न एग्रोभेटमार्फत अनुदानको रासायनिक मल वितरण गर्ने गर्दछ ।  

रत्ननगर नगरपालिकाका कृषि अधिकृत संयोग पौडेलका अनुसार चितवनमा अहिले धान बालीलाई पुग्नेगरी मल आएको छ । ‘किसानले मल कसरी प्रयोग गर्नुहुन्छ भन्ने पनि हुन्छ,’ उनले भने ‘अहिले चितवनमा केरा किसानलाई मल पुगेको छैन । सरकारी मापदण्ड अनुसार किसानले मल प्रयोग गरे धानलाई पुग्ने अनुमान गरेका छौँ ।’

सरकारले मापदण्ड नै बनाएर किसानलाई प्रतिकठ्ठा २ केजी मल उपलब्ध गराउन निर्देशन दिएको छ । अहिले वितरणकै चरणमा रहेकाले मल पुग अपुग भन्न नसक्ने अवस्थामा रहेको उनले बताए ।  

यसअघि साउन महिनामा कृषि सामग्री कम्पनीमा ६०० मेट्रिक टन मल वितरण गरिएको थियो  । डीएपी मल र पोटास पनि मल कम्पनीमा पहिल्यैदेखि स्टकमा थियो । धान रोपाइँको सिजनमा अनुदानको रासायनिक मल वितरण गरिएको थियो ।  

कृषि सामग्री कम्पनी लिमिटेड भरतपुर र साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०८१/०८२ मा ५ हजार ९०६.९५ मेट्रिक टन युरिया र ४ हजार २४७ मेट्रिक टन डीएपी मल वितरण गरेका छन् । चितवनमा मलको आवश्यकता भने बढी छ ।  

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार जिल्लामा २१ हजार ९१७ मेट्रिक टन युरिया र १३ हजार ८३ मेट्रिक टन डीएपी मल आवश्यक पर्छ । अहिले चितवन आउने मलले आवश्यकताको २५ प्रतिशत पनि नधान्ने उनको अनुमान छ ।  

जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । क्षेत्रफल बढि भएकाले पनि चितवनमा सबैभन्दा बढी धान बालीमा रासायनिक मलको प्रयोग हुँदै आएको छ ।  

त्यसपछि मकै, तरकारी, केरा लगायतका फलफलुलमा रासायनिक मलको खपत बढिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीले जानकारी दिए  ।  

‘चितवन व्यावसायिक रुपमा खेती हुने जिल्ला हो । यहाँ व्यावसायिक रुपमा खेती गर्ने किसानको संख्या बढिरहेको छ,’ उनले भने ‘ उनीहरुको आवश्यकता अनुसार मल उपलब्ध गराउन सकिएको अवस्था छैन ।’  

किसानले धान रोप्ने समयमा र गोड्ने समयमा रासायनिक मल प्रयोग गर्दै आएका छन् । 

प्रकाशित: १३ भाद्र २०८२ १७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App