९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

जलवायु परिवर्तनका कारण विपद् जोखिम बढ्दै : मन्त्री सिन्हा

मौसमको वैज्ञानिक अवलोकन आवश्यक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्याङ्क सङ्कलन र विश्लेषणले भविष्यमा विपद् न्यूनीकरण तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। 

विश्व जल तथा मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले नेपालको भौगोलिक विविधता-हिमाल, पहाड र तराईका कारण मौसम तथा जलवायु प्रणाली जटिल र संवेदनशील रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण विपद् जोखिम बढ्दै गएको बताए। 

असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लावट तथा हिमताल विस्फोटजस्ता घटनाले जनजीवन, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उनको भनाइ छ। 'यस्तो अवस्थामा वैज्ञानिक जानकारी, समयमै पूर्वानुमान र प्रभावकारी पूर्वसूचना प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण हुने छ।  कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, स्वास्थ्य, यातायात तथा उड्डयन क्षेत्र यी सेवामा निर्भर रहेको छ,' उनले भने।

सरकार जल तथा मौसम सेवाको विस्तार, सुदृढीकरण र आधुनिकीकरणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले पूर्वानुमान प्रणालीलाई अझ विश्वसनीय र प्रभावकारी बनाउन आधुनिक प्रविधि प्रयोग, पूर्वाधार विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिइएको जानकारी दिए। 

उनले जोखिमयुक्त समुदायसम्म समयमै सूचना पुर्याउन पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको पनि स्पष्ट पारे। अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि हस्तान्तरण, अनुसन्धान र नवप्रवर्तनमार्फत सेवा गुणस्तर अभिवृद्धि गर्ने दिशामा सरकार अग्रसर रहेको उनको भनाइ थियो। 

मन्त्री सिन्हाले सरकारी, गैरसरकारी, निजी तथा शैक्षिक क्षेत्रबीचको सहकार्यबाट मात्र जल तथा मौसम सेवाहरू प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउन सकिने धारणा व्यक्त गरे। 

प्रकाशित: ९ चैत्र २०८२ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App