विपद् तथा चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र उपभोक्तामाथि ज्यादती गर्नेहरूलाई सरकारले कारबाही गर्ने भएको छ।
बजार अनुगमनलाई तीव्र बनाउन सरकारले खाद्यान्नलगायतका उपभोग्य वस्तुको भाउ निगरानी गर्न १६ वटा विशेष अनुगमन टोली विभिन्न स्थानमा खटाएको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले सोमबार ठूला गोदाम तथा खुद्रा पसलहरूमा प्रभावकारी र सूक्ष्म अनुगमन गर्न टोलीलाई निर्देशन दिएकी छन्।
कालोबजारी गर्नेहरूमाथि शून्य सहनशीलता अपनाइने बताउँदै मन्त्री यादवले भनिन्, ‘बजारमा कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलबाड गर्ने काम कुनै पनि हालतमा सह्य हुनेछैन।’
उनले उपभोक्ता ठगी, कालोबजारी वा अत्यधिक मूल्यवृद्धि गरेको पाइएमा कसैको दबाब वा पहुँचका आधारमा कसैलाई पनि उन्मुक्ति नदिन अनुगमन टोलीलाई सचेत गराइन्।
मन्त्री यादवले बजार अनुगमन प्रणालीमा विगतमा देखिएका कमजोरीहरू दोहोरिन नदिन कर्मचारीहरूलाई निर्देशन दिइन्।
सोही छलफलमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजार अनुगमनलाई नतिजामुखी बनाउन कुनै पनि हालतमा जनशक्ति अभाव हुन नदिने बताए।
प्रकाशित: १५ भाद्र २०८३ १९:३२ सोमबार


-600x400.jpg)


