१५ भाद्र २०८३ सोमबार
image/svg+xml
खेल

झापा–११ बन्यो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने चौथो टोली, फिदिमसँग भेट पक्का

चौथो संस्करणको ताप्लेजुङ गोल्डकपमा सेमिफाइनल समीकरण पूरा भएको छ। सोमबार फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा–११ सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो।

झापा–११ का आयुष घनालले खेल सुरु भएको पाँचौँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनको यही गोल निर्णायक बन्दा झापा–११ ले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।

अब झापा–११ ले फाइनल प्रवेशका लागि बुधबार हुने दोस्रो सेमिफाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फिदिमले क्वाटरफाइनलमा चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

झापा–११ आयुष घनालसँगै आरोन थापा मगर, देवेन्द्र तामाङ र सुमित श्रेष्ठलगायत नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीलाई मैदानमा उतारेको थियो। नेपाल पुलिस क्लबमा भने युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी राम बाजी, सुजन बलम्पाकी, महादेव गुरुङ र विजय उराउलगायत खेलाडी थिए।

यसअघि मंगलबार हुने पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको विजेता सलहेस युवा क्लब सिराहा र प्रतियोगिताको एकमात्र अन्तर्राष्ट्रिय टोली भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सलहेसले आइतबार भएको क्वाटरफाइनलमा सातदोबाटो फुटबल क्लब, ललितपुरलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। जर्जियन युनाइटेडले भने पहिलो क्वाटरफाइनलमा आयोजक ताप्लेजुङ–११ लाई २–१ गोलले पराजित गरेको थियो।

प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बजाज कम्पनीको एक थान मोटरसाइकल पाउनेछन्।

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।

प्रकाशित: १५ भाद्र २०८३ १९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App